काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को पक्षमा फैसला गरेको छ।

सर्वोच्चले नयाँ व्यापारिक लाइन्सेन्स वितरण प्रक्रियाविरुद्ध परेको अधिवक्ता दीपकविक्रम मिश्रको रिट खारेज गर्दै सेबोनको पक्षमा फैसला सुनाएको हो। योसँगै अब सेबोनलाई नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ। 

गत बिहीबार सुनुवाइ भएर हेर्दा हेर्दैमा राखिएको यो मुद्दाको पेसी आज तोकिएको थियो। आज न्यायाधीशद्वय अनील कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासमा यस मुद्दाको पेसी तोकिएको छ। उक्त संयुक्त इजलासले मिश्रको रिट खारेज गरेको हो। 

मिश्रले सेबोनले थालेको व्यापारिक लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै गत असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ। उक्त रिटमा करिब ६ महिना अन्तिम फैसला आएको हो। 

यसअघि गत फागुन १५ गते  संवैधानिक इजलाशमा यसैसम्बन्धी परेको मुद्दाको आदेशको मिसिल झिकाएर अर्को सुनुवाइको लागि पेस गर्नका लागि अदालतले आदेश दिएको थियो। 

सेबोनले गत असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो। बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो। ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीले आवेदन दिएका छन् भने स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन परेको छैन।