– अनन्त्य सुन्दर

काठमाण्डौ । बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले फेरि सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराएका छन्। 

ढुंगानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, सेबोनको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई सर्वोच्चमा अर्को रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी भोलि मंगलबारलाई तोकिएको छ।

सरकारले ढुंगानालाई छोरीको नाममा सर्वोत्तम सेयर खरिद गरेको, भित्री कारोबारमा सूचना चुहावटलगायतको आरोप लगाउँदै सेबोनको अध्यक्षबाट बर्खास्त गरेको थियो। उनले अहिले सर्वोच्चमा दोस्रो रिट दायर गर्दै आफूलाई सेबोनको अध्यक्षबाट बर्खास्त गर्ने निर्णय तत्काल रोकी आफूलाई पदमा बहाल गर्ने आदेश हुनुपर्ने माग राखेका छन्। ढुंगानाले आफूमाथि निराधार आरोपहरु लगाएर बर्खास्त गरिएको रिटमा उल्लेख गरेका छन्। 

दोस्रो रिटबारे प्रश्न गर्दा ढुंगानाले अदालतमा विचाराधीन मुद्दा भएकाले बोल्न नचाएको र अहिले कानुनी प्रक्रियाअनुरुप नै अघि बढेको बताए।

ढुंगानाले आफूलाई विपक्ष बनाई रिट दायर गरेपछि सेबोन अध्यक्ष हमालको पनि दौडधुप बढेको छ। उनले अधिवक्ता, सेबोनका कर्मचारी, विज्ञलगायतसँग छलफल र कानुनी परामर्श अघि बढाएका बोर्डस्थित स्रोतले बतायो। उनलाई सरकारले सेबोनको अध्यक्षमा नियुक्त गरेको झन्डै ३ महिना भइसकेको छ। 

सेबोनको नयाँ अध्यक्ष सिफारिस गर्न गठित समिति र सेबोन अध्यक्षलाई विपक्षमा राखी रिट पेस गरिएकाले सेबोनका कर्मचारीहरुसँग सल्लाह र परामर्श लिइरहेको हमालले बताए।

सेबोन अध्यक्षले मुद्दालाई प्रभावित पार्न मिडिया परिचालन गरेको आरोप पनि लगाइएको छ नि ? भन्ने बिजशालाको जिज्ञासामा हमालले भने, ‘केही मिडियामा समाचार आएको रहेछ। मैले पनि न्युज पढ्दा बायस्ड कुराहरु पाएँ। मलाई कुनै मिडिया परिचालन गर्न आवश्यक छैन। मलाई नराम्रो बनाउनका लागि केही व्यक्तिले त्यस्ता समाचारहरु प्रकाशन गरेको मेरो बुझाइ छ।’