काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा आकर्षित गर्न बुक विल्डिङ विधि तथा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न दिने नीति ल्याएपछि सर्वसाधारणले अंकित मूल्यमा आईपीओ भर्न नपाउने भएका छन् । 
यसअघि नै सिमेन्ट, हाइड्रोपावर, बीमालगायतका कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गरिसकेका छन् । यसकै पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ, सर्वोत्तम सिमेन्ट ।

 

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ६० लाख कित्ताको ४० प्रतिशत अर्थात् २४ लाख कित्ता निष्कासन गरिसकेर अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले सर्वसाधारणको लागि ६० लाख कित्ताको बाँकी ४० प्रतिशत अर्थात् ३६ लाख कित्ता निष्कासन गर्ने तयारी गरिरहेको छ, जसका लागि लगानीकर्ताले ५० कित्ताको लागि न्यूनतम १८ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

बुक विल्डिङ विधिमार्फत् नेपालमै पहिलो पटक खुल्न लागेको यो आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ ।सर्वसाधारणलले कम्पनीको आईपीओमा प्रतिकित्ता ३६०.९०  रुपैयाँ तिर्नुपर्छ । उक्त रकम बैंक खातामा नभएमा आवेदन स्वतः रद्द हुन्छ ।

आईपीओ बाँडफाँटका क्रममा योग्य लगानीकर्ताले कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।

संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गर्ने क्रममा कम्पनीको आईपीओको ‘कटअफ मूल्य’ ४०१ रुपैयाँ तय भएको थियो ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ ।

बुक बिल्डिङ निर्देशिका-२०७७ अनुसार आवेदकले न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने आवेदकले न्यूनतम ५० कित्ता नै पाउने गरी बाँडफाँट गर्नुपर्ने छ । 

इक्रा नेपालले कम्पनीलाई ट्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई ट्रिपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ ।

कम्पनीको उद्योग भने नवलपरासीको सुनवल नगरपालिकामा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

नेपालमा यो विधिबाट सेयर निष्कासन भएको पहिलो पटक भएकाले सुरुमा नियामक लगायत लगानीकर्तालाई अन्यौल हुनु स्वभाविक भएता पनि यसले वास्तविक क्षेत्रका धेरै कम्पनीहरुलाई पूँजीबजारमा आकर्षित गर्ने विज्ञहरुको भनाइ छ ।

त्यसो त रिलायन्स स्पिनिङ मिल्सले पनि बुक विल्डिङ विधिबाटै आईपीओ निष्कासन गर्ने तयारि गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विगत एक वर्षअघि नै धितोपत्र बोडमा आवेदन दिइसकेको छ ।