काठमाण्डौ। सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको छ ।

पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 

गत मंसिर १८ गते प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता आईपीओ बिक्री गर्न कम्पनीले बोर्डमा निवेदन दिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट यस कम्पनीले आईपीओ बिक्री गरेको हो । योग्य संस्थागत लगानीकर्तामा भने प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले  गत मंसिर ६ गतेदेखि १० गतेसम्म पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।

योग्य संस्थागत लगानीकर्तामा जारी भएको सेयरको बिक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको थियो । गत मंसिर ११ गते तोकिएको अवधिभित्र योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खोली निर्धारण भएको ४०१ रुपैयाँ कटअफ मूल्यमा आईपीओ बाँडफाँट गरिएको छ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको  छ ।

सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँ  दरले ३६ लाख कित्ता सेयर निष्कासन गर्ने छ ।

जसअनुसार न्युनतम ५० कित्ता सबैलाई दिनु पर्ने प्रावधान रहेकाले  जम्मा ७२ हजारलगानीकर्ताले मात्रै अब सेयर पाउने छन् ।