काठमाण्डौ । नेप्सेमा लगातार तेस्रो पोजेटिभ सर्किट लागेसँगै आज आइतबार सेयर बजार झन्डै ३ घन्टा अगावै बन्द हुन पुगेको छ। 

बजार खुलेको १ घन्टा ८ मिनेट २२ सेकेन्डभित्रै तीनवटा पोजेटिभ सर्किट लागेपछि आजको बाँकी समयको कारोबार स्थगित गरिएको हो। 

आज बजार खुलेको साढे ६ मिनेटमै नेप्सेमा ४ प्रतिशतको उछाल आएसँगै पहिलो पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। २० मिनेटपछि खुलेको बजार पुनः १ मिनेटमै अर्थात ११ बजेर २७ मिनेटमा नेप्सेमा ५ प्रतिशतको बढोत्तरी भएपछि दोस्रो पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको थियो।

यसैगरी १२ बजेट ८ मिनेट २२ सेकेन्ड नेप्से परिसूचकमा ६.०४ प्रतिशत बढोत्तरी भएसँगै आजको बाँकी कारोबार स्थगित भएको हो।

योसँगै नेप्सेमा ८४.२६ अंकको उछाल आएको छ। यो उछालसँगै नेप्से परिसूचक १४७९.०३ को उचाइमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये १११ कम्पनीका १ लाख ८० हजार ५६९ कित्ता सेयर ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँमा कारोबार भएको छ।

आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

आर्थिक वर्ष २०७/७८८ को मौद्रिक नीतिले सेयर बजारमैत्री भएको ठहर गर्दै चौतर्फी प्रशंसा पाइरहेको सन्दर्भमा आम लगानीकर्ताहरुको मनोबल ह्वात्तै बढ्दा नेप्से परिसूचकमा उछाल आएको हो।