काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक बढेको छ । नेप्से परिसूचक १२.८४ अंकले बढेर ११९४.५० को विन्दूमा फर्किएको हो । 

यो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम(टर्नओभर) भने घटेको छ । परिसूचकमा दोहोरो अंकको बढोत्तरी हुँदा कारोबार रकम भने घट्नु राम्रो संकेत होइन । 

निरन्तर घटिरहेको बजारमा पछिल्लो समय राम्रा कम्पनीको सेयर समेत सस्तोमै पाउन थालिएको छ । आइपीओ मूल्य र आसपासमै दोश्रो बजारमा सेयर किन्न पाउन थालिएपछि लगानीकर्ताहरुले खरिदारी बढाउँदा बजार बढेको हो । यस्तै, सूचिकृत कम्पनीहरुले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वाणिज्य बैंकहरुको प्रगति राम्रो देखिएको छ, यसको समेत बजारमा सकारात्मक प्रभाव पर्न थालेको कतिपयको भनाई छ । 

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका लागि नेप्सेले सम्बन्धित ब्रोकरमा गएर यूजर नेम र पासवर्ड लिन गरेको आग्रह, यसबाट अनलाइन प्रणाली निकट भविष्यमै सुरुवात हुने संकेतका कारण समेत कतिपय लगानीकर्तामा उत्साह बढेको देखिन्छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स २.४६ अंकले बढेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०४ अंकको बढोत्तरी भएको छ । 

यो दिन बजारका सबै सूचकमा हरियाली छाएको छ । 

बैंकिङ समूह ८.०६ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा १३३.५१ अंक तथा जीवन बिमा समूहमा ५४.८६ अंकको बढोत्तरी भएको छ । यस्तै, विकास बैंक समूह १५.८८ अंक, जलविद्युत समूह १९.०१ अंक, बित्त समूह १.८ अंक, उत्पादनमूलक १०.९१ अंक, माइक्रोफाइनान्स समूह ३५.४५ अंक तथा अन्य समूह ९.६३ अंकले बढेका छन् । 

धेरै  कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका ६ लाख ५८ हजार २ सय ९२ कित्ता सेयर १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ६० लाख बढीको कारोबार गर्यो । यसैगरी, नवील बैंकले १ करोड १ लाख बढीको कारोबार गरेको यो दिन इन्भेष्टमेन्ट बैंकको ८६ लाखको हाराहारीमा संस्थापक सेयरको समेत किनबेच भयो । 

नेपाल बैंकले ८२ लाख बढीको कारोबार गरेको यो दिन राष्टिय बिमा कम्पनी लिमीटेडले ६२ लाख ९५ हजार, ग्लोबल आइएमई बैंकले ५६ लाख ८९ हजार, जलविद्युत लगानी तथा विकास कम्पनीले ५५ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले ४३ लाख, मेगा बैंकले ४१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भयो । हिमालयन बैंकका लगानीकर्ताले ६.२७ प्रतिशतले सम्पत्ति बढाए । 

साताको दोश्रो कारोबार दिन सोमबार तिनाउ डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.४१ प्रतिशतले घट्यो ।