काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेच्ने भएको छ।

बैंकले गत २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर यही साउन ३० गतेदेखि लिलामी प्रक्रियामार्फत बेच्ने भएको हो। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले गोप्य शिलबन्दी पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ। यसको मतलब गोप्य शिलबन्दी पेस गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा माथि बोलकोबल गरेर पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता सेयरका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 
गोप्य शिलबन्दी बोलपत्र भदौ ८ गते बैंकिङ समयसम्म पेस गर्न पाइनेछ। 

सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरु पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा बोलपत्र पेस गर्न सक्नेछन्। 

यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा कार्यालयहरु नारायणढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढी तथा सहारा विकास बैंकका शाखाहरु मलंगवा, बरथहवा, लालबन्दीइ, ईश्वरपुर, गोडैता र ग्रिन डेभलपेन्ट बैंकको हरिशंक रोड बागलुङ पनि बोलपत्र पेस गर्न सकिनेछ।