काठमाण्डौ । सहारा विकास बैंक लिमिटेड आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको हिजो असार २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा चुक्तापुँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँको ५.०५ प्रतिशतले हुन आउने १ करोड ३७ लाख ४९ हजार ६६५.५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.२७ प्रतिशतले हुन आउने ७ लाख २३ हजार ६६६.६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंक आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ। 

झन्डै ३ वर्षअघि सहाराले तत्कालीन देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको थियो। त्यति नै बेलादेखि सहाराको सेयर कारोबार नेप्सेले धितोपत्र दोस्रो बजारमा रोक्का राखेको छ। 

बराबरी हैसियत नपाएपछि सहारा विकास बैंकले तत्कालीन देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रक्रिया भाँड्यो। गत वर्ष असोजमा फेरि सहारा विकास बैंकले गरिमा विकास बैंकसँग प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको थियो। तर यो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन।