काठमाण्डौ । अघिल्लो साता प्रत्येक दिन दोहोरो अंकले घटेको पूँजीबजार साताको पहिलो कारोबार दिन आइतबार केही सम्हालिएको देखिएको छ । 

अघिल्लो साताको पछिल्लो दुई कारोबार दिन दोहोरो अंकले घटी पहिरो गएको पुँजीबजारमा आइतबार भने एकल अंकको मात्र गिरावट देखियो । बजार परिसूचकमा पनि केही सुधार भएको छ ।

वाणिज्य बैंक र बिमा समूहमा आइतबार पनि सुधार देखिएन । तर विकास बैंक समूहको सूचकमा हरियो पोतियो भने बित्त समूहमा झिनो अंकको गिरावट आयो । यसले यो साताको पहिलो कारोबारको दिनबाट बित्तीय संस्थामा लगानीकर्ताहरुको आकर्षणमा केही सुधार भएको देखिएको छ । 

बजारमा वाणिज्य बैंकहरुले गरिरहेका सेयर आपूर्तिको तुलनामा माग कयौं गुणा बढीरहेको विज्ञहरु बताउँछन । तसर्थ आइतबार पनि कारोबारको हिसाबले वाणिज्य बैंकमै लगानीकर्ताको थुप्रो लाग्यो । 

आइतबार नेप्से परिसूचक ३.८८ अंकले झर्दै १७६४.७२ अंकमा आइपुगेको छ । अघिल्लो साता विज्ञहरुले अपेक्षा गरेजस्तो यो साताको सुरुवातदेखि कारोबारमा सुधार देखिएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिजशालासँग कुरा गर्दै शेयर विश्लेषक रविन्द्र भट्टराईले घट्दो बजारमा सुधार आउने दाबी गरेका थिए । 

पहिलो दिन सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक ८१.९९ अंकले ओरालो लाग्यो । बिमा समूह ५८.४ अंकले घट्यो भने वाणिज्य बैंक समूहमा ७.२६ अंकको मात्र गिरावट देखियो । अघिल्लो साता वाणिज्य बैंक समेत अधिकांश दिन दोहोरो अंकले झरेको थियो । जलविद्युत समूहमा ०.०२ को झिनो गिरावट  देखियो ।  बाँकी सबै समूहको सूचक उकालो लाग्यो । 

अघिल्लो साता विज्ञहरुले अपेक्षा गरेजस्तो यो साताको सुरुवातदेखि कारोबारमा सुधार देखिएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिजशालासँग कुरा गर्दै शेयर विश्लेषक रविन्द्र भट्टराईले घट्दो बजारमा सुधार आउने दाबी गरेका थिए । 

आइतबार सबैभन्दा बढी अन्य समूहको सूचक १७.६४ अंकले उक्लियो भने होटल समूह ४.३५, विकास बैंक समूह ३.९७ र बित्त समूह ०.६३ अंकले उकालो लागे । 

सेन्सेटिभ र फ्लोट इण्डेक्समा पनि झिनो गिरावट मात्र देखियो । यी दुई इण्डेक्स क्रमशः ०.७६ र ०.४३ अंकले ओर्लिए । 
आइतबार कारोबार रकममा पनि सुधार भएको छ । कुल १ सय ४१ कम्पनीका २१ लाख १६ हजार ३ सय ५४ कित्ता सेयर १ अर्ब ५३ करोड १४ लाख रुपैयाँमा किनबेच भयो । 

आइतबार तीन वाणिज्य बैंकले १० करोड भन्दा माथि कारोबार गरे । सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ११ करोड ५३ लाखको सेयर किनबेच भयो । 

यसैगरी, नेपाल बैंक लिमीटेडको १० करोड ७६ लाख, सिद्धार्थ बैंकको १० करोड ६५ लाखको सेयर किनबेच भयो । एभरेष्ट बैंकले ८ करोड ७४ लाख, एनएमबी बैंकले ६ करोड ८८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६ करोड १७ लाख, माछापुच्छे बैंकले ३ करोड ८३ लाखको कारोबार गरे । नेको इन्स्योरेन्स ३ करोड ७० लाख कारोबार गर्दै धेरै कारोबार गर्ने टप १० को सूचिमा उक्लियो भने सनराइज बैंक र अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीले क्रमशः ३ करोड ५६ लाख र ३ करोड २१ लाख कारोबार गर्दै उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा आफूलाई उभ्याउन सफल भए । 

आइतबार तीन कम्पनीले आफ्नो सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि गरे । माउण्ट मकालु डेभलपमेन्ट बैंक, किसान माइक्रो फाइनान्स बित्तीय संस्था, कन्काई विकास बैंक र ओमी माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ता सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरीले मालामाल भए । केही जलविद्युत कम्पनीका लगानीकर्ताले समेत कमाए ।

आइतबार सबैभन्दा धेरै बोटलर्स नेपाल(तराई) लिमीटेडका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतको गिरावट देखियो । एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था, सिनर्जी फाइनान्स लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि निकै ठूलो गिरावट देखियो ।