काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली, २०७७मा संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

साइबर सुरक्षाका मापदण्डहरु तथा उत्कृष्ट अभ्यासहरुको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउनका साथै सूचना तथा सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्नेतर्फ सेवाग्राहीको विश्वसनीयता कायम राख्न प्राधिकरणले साइबर सुरक्षा विनियमावली लागू गरेको थियो। सोही विनियमावलीलाई संशोधनका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाएको हो। 

विनियमावलीमा संशोधन गर्नका लागि प्राधिकरणले सरोकारवाला निकायहरुसँग राय–सुझाव माग गरेको छ। 

विनियमावलीका व्यवस्थाहरु पालना गर्ने सन्दर्भमा दूरसञ्चार सेवा प्रदायकहरुका कुनै समस्या र विनियमावलीमा संशोधन गर्नुपर्ने कुनै विषयहरु भए ३० दिनभित्र बुँदागत रुपमा संशोधधन गर्नुपर्नाका कारण र पुष्ट्याईसहित लिखित रुपमा राय, सल्लाह र सुझाव पेस गर्न प्राधिकरणले आग्रह गरेको छ। 

राय–सुझाव प्राधिकरणको काठमाण्डौ जमलस्थित कार्यालयमा पेस गर्न र प्राधिकरणको ई-मेलमार्फत पठाउन सकिनेछ।