काठमाण्डौ । साउदी अबरले सोमबार अपराधमा संलग्न नाबालिगका लागि मृत्युदण्डको सजाय अन्त्य गर्ने ऐतिहासिक फैसला लिएको छ। 

साउदी अरबले गत शनिबार सार्वजनिक रुपमा कोर्रा हान्ने सजाय पनि अन्त्यको घोषणा गरेको थियो। साउदी अरबको मानवाधिकारीको रेकर्ड निकै खराब रहेको छ। यद्यपि पछिल्लो केही वर्षहरु साउदी राजकुमार मोहम्मद विन सलमानले राजतन्त्रको छवि सुधार्नका लागि लगातार सुधारवादी कदम उठाइरहेका छन्। 

मानवअकिार आयोगकी अध्यक्ष अवाद अलवदले नाबालिग अवस्थामा भएको अपराधमा संलग्नलाई मात्र मृत्युदण्डको सजाय नदिइने बताए। यद्यपि त्यस्ता नाबालिगलाई सुधारका लागि जुवेनाइल डिन्टेसन फेसिलिटीस्वरुप १० वर्ष जेल सजाय भने हुने उनले जानकारी दिए। 

अवादले साउदीको फैसलामा खुसी जनाउँदै यो साउदी अरबका लागि निकै महत्वपूर्ण दिन भएको बताए। यसले अब साउदीमा आधुनिक कानुनी व्यवस्था लागू गर्न मद्दत पुग्ने उनको विश्वास छ।

साउदी अरबको यो फैसलाले शिया समुदायका ६ जनाका लागि राहात हुनेछ, जसलाई यसअघि मृत्युदण्डको फैसला सुनाइएको छ। अरब स्प्रिङ आदोलनका क्रममा सरकारविरोधी प्रदर्शनमा सामेल भएको आरोपमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। फैसला सुनाउँदै उनीहरु सबैको उमेर १८ वर्षभन्दा मुनि थियो।

साउदी अबरमा वहाबी इस्लामको बोलबाला छ। त्यहाँको समाज निकै संकीर्ण विचारधाराको छ। 

तथापि साउदी राजकुमार सलमान लगातार साउदी राजतन्त्रलाई एक आधुनिक राज्यमा परिवर्तन गर्नका लागि निकै कोसिस गरिरहेका छन्। 

टर्कीको इस्तानबुलमा वासिङ्टन पोस्टका पत्रकार जमाल खाशोग्जीको हत्यामा साउदीको भूमिकामा प्रश्न उठिरहेको छ र राजकुमार सलमानको यो सुधारवादी कदमबाट आफ्नो छवि बदल्नका लागि यस्ता कदम उठिरहेको विश्लेषकहरु बताउँछन्।

अपराधीहरुलाई सजाय दिने विषयमा साउदी अबर विश्वमै अग्रस्थानमा देखिन्छ। साउदीमा आतंकवाद, बलात्कार, लुट, लागूऔषध, मानवतस्करीजस्ता अपराधमा मृत्युदण्डको प्रावधान छ। 

आधिकारिक तथ्यांकअनुसार सन् २०१९ मा साउदी अबरमा १८७ जनालाई मृत्युदण्ड सुनाइएको थियो। गत जनावरीबाट अहिलेसम्म कुल १२ जनालाई मृत्युदण्ड दिइसकिएको छ। – एजेन्सी