काठमाण्डौ । लगानीकर्ताको आम निराशालाई चिर्दै हरियो महिना साउनलाई पूँजीबजारले हरियै रंगले विदाई गरेको छ । 

यो साताको पहिलो दुई कारोबारको दिन पहिरो व्यहोरेको पूँजीबजारमा मंगलबार आशा र उत्साहलाई प्रवेश गराउँदै बजारले २२.६४ अंकको फड्को मारेको हो । 

बजार १७१७.४५ अंकको विन्दूमा पुगेको छ भने नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सबै उपसमूह हराभरा भएका छन् । आइतबार र सोमबार बजारले राताम्मेको नियमित भोग्नुपरेको थियो । 

आइतबार र सोमबार नै सबैभन्दा धेरै घटेको बिमा समूहको सूचमा मंगलबार १७२.११ अंकको वृद्धि देखिएको छ । होटल समूहले ७८.२१ अंकको बढोत्तरीसहित बिमालाई पछ्याएको छ । बित्तीय संस्थाको सेयरमा दोहोरो अंकको वृद्धि देखिएको छ । वाणिज्य बैंक, विकास बैंक र बित्त समूह क्रमशः २१.२६, १६.५८ र ११.०६ ले उकालो लागेका हुन्  ।

जलविद्युत समूह ११.८५, उत्पादनमूलक ८.४६ र अन्य समूह ६.९४ अंकले उक्लियो ।

'क' वर्गका कम्पनीको कारोबार सुध्रिएका कारण सेन्सेटिभ इण्डेक्स ४.९८ अंकले बढ्यो । फ्लोट इण्डेक्समा १.७१ अंकको बढोत्तरी देखियो । 

नेप्से बढे पनि मंगलबार कारोबार रकम भने साताको पहिला दुई  कारोबार दिनको भन्दा तल झरेको छ । कुल १ सय ४२ कम्पनीका २० लाख ३८ हजार ९ सय १४ कित्ता सेयर १ अर्ब ६ करोडका किनबेच भएको हो । 

धेरै कारोबार गर्ने कम्पनीहरु
धेरै कारोबार गर्ने कम्पनीको सूचिलाई आइतबार र सोमबार झै मंगलबार पनि नेपाल बंगलादेश बैंकले नै नेतृत्व गरेको छ । यो बैंकको ७ करोड ३३ लाखको सेयर किनबेच भयो । लुम्बिनी जनरल इन्स्योरेन्सले ५ करोड ४० लाख, एभरेष्ट बैंकले ४ करोड ११ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड ९६ लाख, शिखर इन्स्योरेन्सले ३ करोड ७१ लाख, माछापुछ«े बैंकले ३ करोड ४८ लाख र एनएमबी बैंकले ३ करोड १३ लाखको कारोबार गरे । 

मंगलबार धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंक र बाँकी २ स्थान विमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउनेहरु
मंगलबार आइसीएफसी फाइनान्स र लुम्बिनी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरले बढ्यो । सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ता सोमबार झै मंगलबार पनि मालामाल भए, कारण यो कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढ्यो । मंगलबार मात्र हकप्रद स्वीकृत भएको गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले पनि ९.८० प्रतिशतले आफ्नो सेयरको मूल्य बढाए । मंगलबार धेरै कमाउने कम्पनीको सूचिमा फाइनान्स कम्पनी, केही विकास बैंक नै अगाडि रहे । 

यसैबीच, मंगलबार वरुण हाइड्रोपावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले बढी क्षति व्यहोर्नुपर्यो । यी दुई कम्पनीको सेयर मूल्यमा क्रमशः ४.५१ र ४.०५ प्रतिशतले गिरावट आयो । माउण्ट मकालू डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त विकास बैंक, युनियन फाइनान्स लगायतको सेयर मूल्यमा ३ देखि ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।