काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’ साउनभित्रै सञ्चालनमा ल्याउन तीव्रगतिमा प्रक्रिया अगाडि बढाएको छ। 

नेप्से सञ्चालक समितिको गत असार २० गते बसेको बैठकले नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षण सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम नेप्सेले हाल नेप्से–३०को आन्तरिक परीक्षण गरिरहेको छ। 

आन्तरिक परीक्षण राम्रै चलिरहेको नेप्से स्रोत बताउँछन्। ‘पहिले नेप्सेले यो इन्डेक्समा कारोबार गर्न मिल्ने ३० वटा कम्पनीको छनौट गर्यो, त्यसपछि अहिले आन्तरिक परीक्षण चलिरहेको छ’, नेप्सेका एक अधिकारीले भने, ‘अहिलेसम्म सोचेअनुसार ढंगले नै परीक्षण चलिरहेको छ।’

नेप्सेले एउटा सेक्टरबाट बढी ८ वटा कम्पनी नेप्से–३० इन्डेक्सका लागि छनोट गरेको ती अधिकारीले जानकारी दिए। ‘एउटा सेक्टरबाट बढी ८ वटा कम्पनी, कुनैबाट ५ वटा र कुनैबाट ४ वटा गरी ३० वटा कम्पनी छनौट गरिएको छ’, ती अधिकारीले भने। 

नेप्से–३० सञ्चालनसम्बन्धी कार्यविधि यसअघि नै नेप्से सञ्चालक समितिले अनुमोदन गरिसकेको छ। अहिले उक्त कार्यविधि परामर्श लिन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नेप्सेले पठाएको छ। ‘कार्यविधिमा सेबोनबाट परामर्श लिने काम सामान्य प्रक्रियामात्र हो, सेबोनले स्वीकृत गर्नुपर्छ वा स्वीकृति लिनुपर्छ भन्ने छैन’, ती अधिकारीले भने।

ती अधिकारीका अनुसार नेप्सेले यही साउन अन्तिम सातासम्म नेप्से–३० सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। ‘सेबोनको अन्यथा परामर्श भएर आएन भने लक्ष्यअनुसार नेप्से–३० सञ्चालनमा आउनेछ’, ती अधिकारीले भने।