काठमाण्डौ । नयाँ आर्थिक वर्ष लागेसँगै घर–जग्गा कारोबारमा बढेको छ। 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल ३९ हजार २६३ लिखत पारित भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६ प्रतिशतभन्दा बढी हो। अघिल्लो वर्ष साउनमा ३३ हजार ८३४ लिखत पारित भएको थियो। 

गत असारको तुलनामा भने घर–जग्गाको कारोबार घटेको छ। गत असारमा ४४ हजार ४८५ लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। 

त्यसो त गत आर्थिक वर्षमा कुल ४ लाख ६३ हजार लिखत पास भएको थियो। जुन अघिल्लो वर्षको तुलनामा करिब ३८ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा कुल ७ लाख ४५ हजार लिखत पास भएको थियो। 

साउनमा सबैभन्दा धेरै लिखत पास सुनसरीको इनरुवा मालपोत कार्यालयमा भएको छ। यो मालपोतमा मात्रै २ हजार २५७ लिखत पास भएको छ। 

साउनमा घर–जग्गाको कारोबारबाट सरकारले करिब ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। साउनमा सरकारले कुल २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्दा १ अर्ब १ करोड ३१ लाख ३३ हजार पुँजीगत लाभकरबाट राजस्व संकलन भएको हो।

उपत्यकाबाहिर सबैभन्दा बढी इनरुवा मालपोतमा ९ करोड ९८ लाख ९९ हजार राजस्व संकलन भएको छ।

त्यस्तै साउनमा उपत्यकामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा मालपोत कार्यलय लगनखेलमा भएको छ। यो मालपोतमा २३ करोड ७४ लाख ३१ हजार राजस्व संकलन भएको छ।