काठमाण्डौ । अपी पावर कम्पनीले यही साउन ३१ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्नेछ। 

कम्पनीले हकप्रद सेयर बिक्री गर्न गत असार २२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रद भर्न पाउनेछन्। 

यो हकप्रदमा अपी पावरका लगानीकर्ताले आउँदो भदौ १९ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले अपी पावरको कार्यालय, मुक्तिनाथ क्यापिटलको कार्यालय र मुक्तिनाथ बैंकका तोकिएका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

कम्पनीले हकप्रद बिक्रीबाट उठेको रकम नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्नेछ। 

अपी पावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।