काठमाण्डौ। सागर डिस्टिलरी लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। 

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतापत्रमा सागर डिस्टिलरीका तर्फबाट अध्यक्ष सन्दीप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। 

सागर डिस्टिलरीले कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। सर्वसाधारण जनताको सहभागिता बढाउनका लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी दिए। कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आईपीओ निकाल्नेछ। 

नेपालमा गुणस्तरीय मदिरा उत्पादन र बिक्रीवितरण गर्न विसं. २०६९ सालमा सागर डिस्टिलरीको स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपुरको देवचुलीमा रहेको छ। उपभोक्ताको स्वाद र स्वास्थ्यलाई उच्च महत्व दिँदै मदिराजन्य उत्पादनहरु तयार पार्ने गरिएको कम्पनीले जनाएको छ। गुणस्तरीयता नै सफलताको प्रतीक रहनेमा सागर डिस्टिलरी विश्वास राख्दछ। 

खासगरी कम्पनीबाट उत्पादित ब्रान्डहरु रोयल ब्लु, ग्रे उल्फ, बेरिज एन्ड ब्लुजले गुणस्तरसँग कुनै सम्झौता नगर्ने अठोटलाई प्रतिबिम्बित गर्ने सागर डिस्टिलरीले दाबी छ। ‘रोयल ब्लुले ह्विस्कीको अत्याधिक राम्रो स्वाद प्रस्तुत गर्दछ भने ग्रे उल्फ प्लाटिनम फिल्टरसहितको लोकप्रिय भोड्का हो, जुन प्रतिस्पर्धीमूलक मूल्यमा बजारमा उपलब्ध छ’, कम्पनीले भनेको छ। 

कम्पनीद्वारा उत्पादित जिन, बेरिज एन्ड ब्लुजको स्फुर्तिदायी स्वादले भने हिमनदीको पानी र हिमाली वनस्पतिको मिश्रणको बेजोड स्वाद प्रस्तुत गरिएको सागर डिस्टिलरीले जनाएको छ। 

बजारमा मदिरा उत्पादन र बिक्रीवितरणमा उल्लेखनीय प्रतिस्पर्धा रहेको हुँदा मदिराको गुणस्तरले ठूलो महत्व राख्दछ। यसै चुनौतीका बीच बजारमा स्थापित विभिन्न ठूला उत्पादकमाझ उभिएको सागर डिस्टिलरीले उल्लेखनीय प्रविधिका माध्यमबाट आफ्नो मौलिकता कायम गर्नुका साथै बजारमा रहेका उपेक्षित अन्तरहरुलाई पूर्ति गरी बजारको मागबमोजिमको उत्पादन ल्याउने उद्देश्य राखेको छ। 

प्रतिष्ठित व्यक्तिहरुको मागलाई मध्यनजर गर्दै सागर डिस्टिलरीले प्रिमियम ह्विस्की बजारमा ल्याउने तयारी गरिरहेको छ। यसका साथसाथै सागर डिस्टिलरीले दीर्घकालीन रुपमा मौलिक परम्परामा आधारित नेपाली मदिराको निर्यात गर्ने लक्ष्यका साथ व्यावसायिक उत्पादन कार्यलाई अघि बढाइरहेको छ।