काठमाण्डौ । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाले निश्कासन गरेका आइपीओमा परेको आवेदनको पछिल्लो तथ्यांक प्राप्त भएको छ । जसअनुसार साञ्जेनमा भन्दा रसुवागढीमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

प्राप्त विवरण अनुसार साञ्जेन जलविद्युत कम्पनी लिमीटेडको आइपीओमा ५३ करोडको हाराहारीमा आवेदन परिसकेको छ । करिब २० हजार ६ सय आवेदकहरुले आइपीओ खरीदका लागि आवेदन दिएका बताइएको छ । 

साञ्जेनले फागुन ११ गतेदेखि सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी रहेका कम्पनीका कर्मचारी र कर्जा प्रवाह गर्ने कम्पनीका कर्मचारीहरुका लागि आइपीओ निश्कासन गरेको हो । 

यो कम्पनीले १०० रुपैयाँ दरका कुल ८७ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । पहिलो चरणमा यी सेयरमध्ये कर्मचारी सञ्चयकोषको सदस्य रहेका कर्मचारीका लागि ७१ लाख १७ हजार ५ सय कित्ता निश्कासन गरिएको हो । फागुन ११ देखि खुलेको यो निश्कासनमा आवेदन दिने समय फागुन ३० सम्म तोकिएको छ । उनीहरुले न्यूनतम ५० देखि ३०० कित्तासम्म सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा २०७४ मंसिर २२ गतेसम्म कर्मचारी सञ्चयकोषको सदस्य बनेका वा मंसिर २६ गते सम्म कोषको सदस्यको रुपमा दर्ता भएका कर्मचारीले यो कम्पनीको आइपीओमा आवेदन दिन पाउनेछन् । 

दोश्रो चरणमा साञ्जेनले संस्थापक सेयरधनी रहेका कम्पनीका कर्मचारी, ऋण प्रवाह गर्ने संस्थाका कर्मचारी र रसुवाका स्थानीय निकायका कर्मचारीबाट आइपीओ आवेदन बुुझ्नेछ । दोश्रो चरणको आइपीओ चैत ५ देखि खुलेर १३ गतेसम्म रहनेछ । दोश्रो चरणमा आवेदन दिनसक्नेले न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्म खरीद गर्न सक्नेछन् । दोश्रो चरणका लागि १२ लाख ७७ हजार ५ सय कित्ता छुट्याइएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारीहरुले चाहि न्यूनतम ५० देखि अधिकतम १००० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । ३ लाख ६५ हजार कित्ता आइपीओ चाहि कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि सुरक्षित गरिएको छ । 

नागरिक लगानीकोषले साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको छ।

यसैबीच, रसुवागढी हाइड्रोपावर कम्पनीले निश्कासने गरेको आइपीओमा १ अर्ब बढीको आवेदन परेको छ । २५ हजार आवेदकले १ अर्ब भन्दा बढी आइपीओ खरीदका लागि प्रस्ताव पेश गरेका हुन् । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीका लागि एक अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय बराबरको साधारण सेयर निश्कासन गरेको हो ।

पहिलो चरणमा कम्पनीले फागुन ११ गते देखि फागुन ३० गतेसम्म आइपीओ खरीदका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । यो कम्पनीको आइपीओमा न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिनसकिने व्यवस्था गरिएको छ ।