काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले जारी गरेको आइपीओमा पछिल्लो समयसम्म ७० हजार बढी आवेदकले १ अर्ब ७० करोड बढीको प्रस्ताव पेश गरिसकेका छन् । 

आइपीओ निश्कासनमा सहप्रबन्धकको भूमिका खेलिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार कुल ८७ लाख ६० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा निश्कासन गरिएको ७१ लाख १७ हजार ५ सय कित्तामा ७० हजार बढीले आवेदन दिएका हुन् । 

यो कम्पनीले पहिलो चरणमा फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषको सदस्यता लिएका कर्मचारीहरुका लागि आइपीओ खुलाइएको हो । उनीहरुलाई न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । २०७४ मंसिर २२ गतेसम्म कर्मचारी सञ्चयकोषको सदस्य रहेका र मंसिर २६ गतेसम्म नयाँ सदस्यको रुपमा दर्ता भएकाहरुले साञ्जेनको आइपीओमा आवेदन दिन पाउनेछन् । 

दोश्रो चरणमा साञ्जेनले संस्थापक सेयरधनी रहेका कम्पनीका कर्मचारीहरुका लागि र लगानी गर्ने कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । आगामी चैत ५ देखि १३ गतेसम्म दोश्रो चरणमा १२ लाख ७७ हजार ५ सय कित्ता साधारण सेयर संस्थापक सेयरधनी रहेका कम्पनीका कर्मचारीका लागि निश्कासन हुनेछ । उनीहरुले न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

यस्तै, दोश्रो चरणमै कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि समेत ३ लाख ६५ हजार कित्ता सेयर निश्कासन हुनेछ । उनीहरुले भने न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्म आवेदनका लागि सुविधा पाएका छन् ।