काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले आज(बैशाख ६ गते)देखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका छन् ।

यसअघि दुवै कम्पनीले बैशाख २ गतेदेखि सेयर निश्कासन गर्ने तयारी गरेका भए पनि उर्जा मन्त्रालयले ६ गतेबाट निश्कासन गर्न सुझाव दिएपछि पूर्व योजना भन्दा ४ दिन ढिलो गरी आइपीओ निश्कासन गरिएको हो । 

सरकारले यसअघि जनताको जलविद्युत कार्यक्रम अन्तरगत १९ वटा आयोजना छनौट गरे पनि पछिबाट यी दुई आयोजनालाई पनि समेटिएको थियो । 

त्रिशुली जलविद्युत कम्पनीको जस्तो यी दुई आयोजनाको आइपीओ रु. १० मा बैना गरेर भने पाइने छैन । दुवै आयोजनाको काम निकै अगाडि बढिसकेको(५० प्रतिशतभन्दा बढी भइसकेका) कारण प्रतिसेयर १०० रुपैयाँकै दरमा आइपीओ निश्कासन भएको हो । 

दुवै कम्पनीको आइपीओ छिटोमा बैशाख १० गतेभित्र र ढिलोमा जेठ ५ गतेभित्र आवेदन दिनुपर्नेछ । 

रसुवागढीमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्ता र साञ्जेनमा न्यूनतम १० देखि अधिकतम २००० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । 

कति आउँदैछ आइपीओ ?
साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गर्नेछ । कुल निश्कासितमध्ये २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीका लागि, २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले पनि १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको  १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गर्नेछ । कुल निश्कासन हुने कित्तामध्ये ४ लाख १० हजार ५२६ कम्पनीका कर्मचारीका लागि, ५ लाख १३ हजार १५७ म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

साञ्जेन र रसुवाले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

जनताको जलविद्युत कार्यक्रममा समेटिने कम्पनीलाई धितोपत्र बोर्डले रेटिङ अनिवार्य भने गरेको छैन । 

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । 

यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।

रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

सरकारी निकायको लगानी रहेको र प्रति मेगावाट लागत निकै कम रहेका दुवै आयोजना लगानीका लागि योग्य छन् । यी दुई आयोजनामा जोखिम समेत अन्य जलविद्युत कम्पनीको तुलनामा कम रहेको छ । 

न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने भएकोले विद्यार्थी वर्ग र न्यून आए भएकाले समेत सेयर भर्न सक्नेछन् । त्यसका लागि डिम्याट खाता चाहिन्छ भने आस्वा सुविधा प्रयोग गरी आइपीओका लागि आवेदन दिन सकिनेछ ।