काठमाण्डौ । आज(शुक्रबार)देखि धितोपत्र बजारमा रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर प्राथमिक निश्कासन(आइपीओ) हुने भएको छ । 

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीका लागि आइपीओ निश्कासन गरेका हुन् ।

साञ्जेन जलविद्युत कम्पनीले १०० रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । यो कम्पनीको आइपीओ पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि फागुन ११ देखि ३० गतेसम्म निश्कासन हुनेछ । यस्तै, कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय निकायका कमचारी तथा ऋणदता संस्थाका कर्मचारीहरुका लागि दोश्रो चरणमा चैत ५ देखि १३ गतेसम्म आइपीओ निश्कासन हुनेछ । 

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीहरुका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ३००  कित्तासम्म आइपीओ खरीद गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले पनि न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। 

ऋणदाता संस्थाका कर्मचारीहरु(कर्मचारी सञ्चयकोष)का लागि भने न्यूनतम ५० देखि अधिकतम १००० कित्तामा आवेदन दिने पाइने सीमा तोकिएको छ । 

साञ्जेनले कर्मचारी सञ्चयकोषसँग ०६८ मंसिर २२ गते त्रिपक्षीय ऋण सम्झौता हुँदाका बखत बहाल रहेका र विवरणपत्र स्वीकृत मिति २०७४ मंसिर २६ गतेसम्ममा थप भएका कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीहरुका लागि ७१ लख १७ हजार ५ सय र संस्थापक सेयरधनी संस्था कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता छुट्याइएको छ । 

यो कम्पनीको आइपीओ खरीद गर्नेले साधारण सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् । 

कम्पनीका चुक्तापूँजी १ अर्ब ८६ करोड रहेकोमा आइपीओपछि २ अर्ब ७३ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानीकोष रहेको छ । यस्तै, सहनिश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनएमबी क्यापिटल, प्रभू क्यापिटल र सिभिल क्यापिटल लिमीटेड रहेका छन् । 

बिक्री प्रबन्धक तथा सह बिक्री प्रबन्धकका मुख्य कार्यालय तथा सीआस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरुबाट दरखास्त फारम पाइने तथा त्यहीँ बुुझाउन सक्ने व्यवस्था गरिएको छ । 

यसैगरी, रसुवागढी हाइड्रोपावरले १ करोड ६४ लाख २१ ह्जार ४० कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारीका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख ८४ हजार २ सय १० कित्ता सुरक्षित गरिएको छ । 

यो कम्पनीले पनि पहिलो चरणमा फागुन ११ गतेदेखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि र दोश्रो चरणमा चैत ५ देखि १३ गतेसम्म कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरु तथा ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीका लागि निश्कासन गरेको छ ।

कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि न्यूनतम ५० देखि अधिकतम ५०० कित्ता ता कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने संगठित संस्थाका कर्मचारीका लागि समेत न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्ता र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५०० कित्तासम्म आवेदन दिनसक्ने सीमा तोकिएको छ । आइपीओपछि कम्पनीको चुक्तापुँजी बढेर ५ अर्ब १३ करोडको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेकोछ । सह निश्कासन तथा बिक्री प्रबन्धहरुमा एनआइबिएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमीटेड रहेका छन् ।