काठमाण्डौ । दोश्रो चरणमा संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि रसुवागढी हाइड्रो पावर लिमिटेड र साञ्जेन जलविद्युत कम्पनीले खुलाएको आइपीओमा झण्डै दोब्बर प्रस्ताव परेको छ ।

यी दुवै कम्पनीका संस्थापक सेयरधनीको रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ संस्था तथा ऋणदाताको रुपमा रहेको कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि चैत ५ देखि १३ गतेसम्म आइपीओ निश्कासन गरिएको थियो । 

तोकिएको समयभित्र दुवै कम्पनीमा दोश्रो चरणमा कुल १९ हजार १ सय ३३ जनाले आइपीओ खरीदका लागि ८१ करोड ७३ लाख बढीको प्रस्ताव पेश गरेका हुन् ।

बिक्री प्रबन्धकहरुका अनुसार रसुवागढीमा कर्मचारी सञ्चयकोषका ५ सय ८५ कर्मचारीले ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । संस्थापक संस्थाका ८ हजार ९ सय ८६ कर्मचारीले ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरीदको प्रस्ताव गरेका छन् ।

यसैगरी, साञ्जेनमा कोषका ५ सय ८५ कर्मचारीले ३ करोड ९९ लाख रुपैयाँ बराबरको प्रस्ताव पेश गरेका छन् । संस्थापक संस्थाका ८ हजार ९ सय ७७ आवेदकबाट २६ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ । 

रसुवागढीले २३ लाख ९४ हजार ७ सय ३५ कित्ता सेयर संस्थापक संगठित संस्थाका कर्मचारीका लागि र ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीका लागि निश्कासन गरेको थियो । 

कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । यस्तै, कर्मचारी सञ्चयकोषका कर्मचारीहरुका लागि भने न्यूनतम ५० देखि अधिकतम २५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

रसुवागढीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमीटेड रहेका छन् ।

यस्तै, साञ्जेनले संस्थापक सेयरधनी संस्था नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा रसुवा जिल्लाका सम्बन्धित स्थानीय निकायका कर्मचारीका लागि १२ लाख ७७ हजार ५ सय कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ३ लाख ६५ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । 

यो कम्पनीले संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि न्यूनतम ५० देखि अधिकतम ३ सय कित्तासम्म र ऋणदाता संस्थाका कर्मचारीका लागि न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्म खरीदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल लिमीटेड, सनराइज क्यापिटल लिमीटेड र प्रभू क्यापिटल लिमीटेडले गर्नेछन्।

पहिलो चरणमा कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि सेयर निष्कासन गरिएको थियो । यसमा डेढ लाखभन्दा बढीको आवेदन परेको थियो । यसबाट करिब साढे ४ अर्ब रुपैयाँ संकलन भएको छ । 

दुवै चरणको बाँडफाँड ढिलोमा शुक्रबारसम्म गर्ने तयारी भइरहेको बताइएको छ ।