काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेड पनि सरकारद्वारा घोषित जनताको जलविद्युत कार्यक्रमभित्रै समेटिने भएका छन् । 

यी दुई कम्पनीलाई जनताको जलविद्युत कार्यक्रम अन्तगरत समेट्ने विषयमा निर्णय लिन यो समाचार तयार पार्दाअघिसम्म उर्जामन्त्रालयमा बैठकको तयारी भइरहेको छ । 

मन्त्रालयस्थित उच्च स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा हुने बैठकले यी दुई आयोजनालाई पनि जनताको जलविद्युत कार्यक्रम अन्तरगत छनौट भएका आयोजनाको सूचिमा थपको निर्णय गर्नेछ । 

'साञ्जेन र रसुवागढीबाट जनताको जलविद्युत कार्यक्रममा आफूहरुलाई पनि समेट्न भनी गरिएको अनुरोधमा मन्त्रीजी सकारात्मक देखिनुभएको छ ।' मन्त्रालयस्थित स्रोतले भन्यो-'त्यही विषयमा निर्णय गर्न उहाँले बैठक डाक्नुभएको हो । कम्पनीका अधिकारी आइसक्नुभएको छ, केहीबेरमा बैठक बस्नेछ ।' 

सरकारले यसअघि जनताको जलविद्युत कार्यक्रम अन्तरगत १९ वटा आयोजना छनौट गरिसकेको छ । यसमध्ये त्रिशुली जलविद्युत कम्पनीले रु. १० बैनामा सेयर समेत बिक्री गरिसकेको छ । छानिएका १९ मध्ये त्रिशुलीपछि दोश्रो आयोजनाको रुपमा तामाकोशी पाँचौको सेयर निश्कासनको आवश्यक पूर्व तयारी समेत थालिएको बेला रसुवागढी र साञ्जेनलाई समेट्ने प्रयास भएको हो । तामाकोशी पाँचौको आइपीओ आउन भने कम्तीमा २ महिना लाग्नेछ । 

रसुवागढी र साञ्जेन आयोजना समेत समेटिए भने जनताको जलविद्युत कार्यक्रम अन्तरगत आयोजनाको संख्या २१ पुग्नेछ ।

यी दुई कम्पनीले बैशाख पहिलो साताभित्र आइपीओ निश्कासनको तयारी गरिरहेका छन् । 

त्रिशुली जलविद्युत कम्पनीको जस्तो यी दुई आयोजनाको आइपीओ रु. १० मा बैना गरेर भने पाइने छैन । दुवै आयोजनाको काम निकै अगाडि बढिसकेको(५० प्रतिशतभन्दा बढी भइसकेको) कारण प्रतिसेयर १०० रुपैयाँकै दरमा आइपीओ निश्कासन गर्नेछन् ।

रसुवागढी र साञ्जेनको कति आउँदैछ आइपीओ ?
दुवै कम्पनीले आगामी बैशाख पहिलो साता सर्वसाधारणका लागि साधारण सेयरको निश्कासन(आइपीओ) गर्ने तयारी गरेका छन् । 

साञ्जेन जलविद्युतस्थित स्रोतका अनुसार दुवै कम्पनीले एकैसाथ सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न लागेका हुन् । 

साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गर्नेछ । 

यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले पनि १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको  १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गर्नेछ ।

साञ्जेन र रसुवाले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

जनताको जलविद्युत कार्यक्रममा समेटिने कम्पनीलाई धितोपत्र बोर्डले रेटिङ अनिवार्य भने गरेको छैन । 

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । 

यी दुवै  कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।
रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।