काठमाण्डौ । बैंकहरुमा देखिएको तरलताको असहज, अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा आउने मितिको अनिश्चितता र विभिन्न गिरोहहरुको चलखेलका कारण बजारमा दोहोरो अंकको पहिरो गएको छ । 

पछिल्लो समय बैंक तथा बित्तीय संस्थामा देखिएको तरलताको असहज अवस्था अझै अन्त हुन सकेको छैन । यसले ब्याजदरमा प्रभाव पारिरहेको छ ।

बैंकको ब्याजदर महङ्गो बन्दै गएको छ भने भनेको बेलामा लगानीकर्ताले कर्जा समेत पाउन छाडेका छन् । वाणिज्य बैंकहरु निकै टाइट सीडी रेसियोमा हुँदा नयाँ कर्जा लगानी ठप्प जस्तै भएको छ । यसले सेयर बजारमा समेत निकै नराम्रो प्रभाव पारेको देखिन्छ । 

यस्तै, सेयरको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा पुग्ने मिति बिहीबार नै घोषणा गर्ने भनिए पनि त्यो भएको छैन । बरु अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा पूर्ण रुपमा पुग्ने मितिको बिषयमा अन्यौल सिर्जना हुँदा यसले बजारका लगानीकर्ताहरुको मनोबल गिराइदिएको छ । यसको प्रभाव समेत बजारमा परेको देखिएको छ । 

योसँगै अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा देखिएको केही अन्यौल अवस्थाको जगमा टेकेर केही गिरोहहरुले बजारमा तीव्र चलखेल गरिरहेका छन् । उनीहरु बजारलाई १००० भन्दा तल झार्ने भन्दै अनेक तिकडममा लिप्त हुँदा सोझा लगानीकर्ता बिलखबन्दमा परेका छन् । 

योसँगै प्राथमिक बजारमा बग्रेल्ती लगानीको अवसर, ऋणपत्रहरुमा समेत आकर्षक ब्याजदर पाउने अवस्था र बैंकहरुको मुद्धती निक्षेपमै समेत बिनाजोखिम मुद्रास्फिति दर भन्दा निकै राम्रो ब्याजदर पाउने अवस्थाले समेत बजारमा सेयरको बिक्री चाप बढेको देखिएको छ । 

यिनै कारणहरुले हिट गर्दा साताको पहिलो दिन आइतबार बजार राताम्मे भएको हो । 

नेप्से परिसूचक १४.८२ अंकले घटेर ११६६.४३ को विन्दूमा सीमित हुन पुगेको यो दिन २५ करोड बराबरको सेयर कारोबार भएको छ । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । बैंकिंग समूह १२.६४ अंकले घटेको यो दिन विकास बैंक, जीवन बिमा समूह र निर्जीवन बिमा समूहमा क्रमशः ६.४७, ४४.४ र ९६.७६ अंकको गिरावट देखिएको छ । 

यसैगरी, माइक्रोफाइनान्स समूह २२.४५ अंकले घटेको छ भने होटल समूहमा २८.८७ अंक, जलविद्युत समूहमा २४.८९ अंक, बित्त समूहमा ५.१६, उत्पादनमूलक समूह ५०.५४ अंक र अन्य समूह ७.७१ अंकले घटेका छन् । 

राम्रा कम्पनीहरुको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९६ अंकको बढोत्तरी देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारका १ सय ५४ कम्पनीका ८ लाख ४० हजार ५५ कित्ता सेयर किनबेच भएको छ । 

एनएमबी बैंकले सबैभन्दा बढी ३ करोड ६५ लाख बढीको कारोबार भएको छ । सोल्टी होटल लिमीटेडले १ करोड २५ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले १ करोड ९ लाख, मुक्तिनाथ विकास बैंकले ९३ लाख, प्रभू बैंकले ९२ लाख, एभरेष्ट बैंकले ७४ लाख, माछापुच्छे बैंकले ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६३ लाख, मेगा बैंकले ५७ लाख र सिभिल बैंकले ५३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ङादी ग्रुप पावरका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशतले बढ्यो ।

यसैगरी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ का इकाईधनीले ६.१७ प्रतिशतले सम्पत्ति बढाए ।

यो दिन नाडेप लघुवित्त र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले प्रतिकित्ता तीव्र गिरावट व्यहोर्नुपर्यो ।