काठमाण्डौ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ संस्करणको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आगामी वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ।
चितवनका उद्योगीहरुको छाता संस्थाका रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा वैशाख २२, २३ र २४ गते आयोजना हुन गइरहेको हो।
नेपाल उद्योग परिसंघ सचिवालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीबारे विस्तृत जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीहरुको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताए। कठिन परिस्थितिमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने उनले बताए।
प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रदर्शनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे।
प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए। यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहनेछन्।
निःशुल्क प्रवेशको व्यवस्था हुने प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यावसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यावसायिक परामर्शदाताहरु, वित्तीय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायतले अवलोकन गर्ने छन्।
उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरका रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवं विदेशी उद्योगीबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ, प्रक्रियाका सम्बन्धमा अनुभव आदान–प्रदानमार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यावसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा पहुँच पुर्याउन महत्वपूर्ण अवसर प्राप्त हुने अध्यक्ष कँडेलले बताए।
तीनदिने औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रवर्द्धनका लागि विषयविज्ञको उपस्थितिमा अन्तर्क्रिया आयोजना गरिनेछ। यसले औद्योगिकीकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरीएका प्रविधिहरुसँंग साक्षात्कारको अवसरसहित अनुशरणका लागि उत्प्रेरणा मिल्नेछ। प्रदर्शनीमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरुका विषय, नेपाल उद्योग परिसंघका तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ। तसर्थ, यस प्रदर्शनी सरकारका औद्योगिक नीति तथा कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पुर्याउने उपयुक्त अवसरका रुपमा समेत रहने आयोजकको विश्वास रहेको छ।
प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्ण रुपमा चलायमान हुन गई आर्थिक कारोबारसमेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ। सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने योजना रहेको यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, घरेलु तथा साना उद्योग महासंघ, चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकाहरु गायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका रहेको छ।
आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स–साना औजार, मेसिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरुबाट लाइभ प्रोडक्सनसमेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago