काठमाण्डौ । साथमा रु. १०००(एकहजार) हुनेले पनि खुलामुखी सामूहिक लगानी योजनामा लगानी गर्न  पाउने भएका छन् ।  

धितोपत्र बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्ड स्वीकृत गरिएको उल्लेख गर्दै त्यसमा न्यूनतम १००० रुपैयाँ हुनेले समेत लगानी गर्नसक्ने प्रष्ट्याएको हो ।

बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा कार्यक्रममा धितोपत्र बजारमा सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी योजनालाई समेत प्रवेश गराउने कार्यक्रम रहे एनआइबिएल एस क्यापिटललाई प्रयोगात्मक रुपमा प्रारम्भिक आकार रु.५० करोड रहने गरी पहिलो खुलामुखी सामूहिक लगानी योजना संचालन गर्न अनुमति प्रदान गरिसकेको छ ।

यो योजनाअन्तर्गत  पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गरिने  बोर्डले जनाएको छ ।

बन्दमुखी योजनाजस्तो खुलामुखी योजना स्टक एक्स्चेञ्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार हुँदैन । योजनाको खुद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू)को आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्नेछन् ।

खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहनेछ भने लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क  नलाग्ने, बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुनेछ ।

लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने बोर्डले जनाएको छ ।

खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने र यसबाट लगानीकर्ताहरुले लगानी विविधीकरण गर्न सहयोग पुग्नुकासाथै धितोपत्रबजारमा नयाँ आयाम थप हुने र हाल अन्य खुलामुखी योजना समेत आउने क्रममा रहेकोेमा यसबाट बजारको दायरा फराकिलो हुन सहयोग पुग्ने बोर्डको विश्वास छ ।

वि. सं. २०६७ सालमा सामूहिक लगानी कोष नियमावली लागू भए पश्चात बोर्डले हालसम्म करीव १६ अर्ब रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना(क्लोज इन्ड म्युचुअल फण्ड स्किम्स)हरु मात्र संचालनमा रहेकोमा धितोपत्र बजारमा नयाँ वित्तीय औजारको रुपमा बोर्डले उक्त खुलामुखी सामूहिक लगानी कोष योजना संचालन गर्न अनुमति प्रदान गरेको हो ।