काठमाण्डौ । बजारको सुस्त गतिमा अझै सुधार आउन सकेको छैन । केही अघिसम्म बजारको गिरावट यात्रामा समेत टर्नओभर(कारोबार रकम)को साथ निरन्तर थियो, तर पछिल्लो समय टर्नओभरले समेत बजारको साथ छाड्दै गएको छ । यसले बजार अनिश्चिततातर्फ धकेलिने त्रास बढाइदिएको छ ।
आर्थिक वर्षको अन्तिम महिनामा वर्षका लागि लक्षित नाफा बुक गर्ने प्रवृतिसँगै तरलता अभावको विकराल समस्याले समेत अवस्था अझ विकराल बन्दै गएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव जटिल बन्दै गएको छ । मार्जिन कल उपलब्ध गराउने वित्तीय संस्थाहरुको ब्याज समेत निकै चर्को छ । घट्दो बजारमा चर्को ब्याजमा ऋण लिएर लगानी गर्नसक्ने अवस्था छैन । यसले समेत लगानीकर्ताको मनोबल कमजोर बनाइरहेको विश्लेषकहरु बताउँछन् ।
बजारका प्राविधिक र फण्डामेन्टल विश्लेषकहरुले बजार केही समय सुस्त गतिमै कुद्ने बताइरहेका छन् । केही समयसम्मको सुस्त गति करेक्सनकै रुप रहेकोले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी गरिरहेका छन् ।
कतिपय लगानीकर्ता भने बजेटले सम्बोधन गरेका पूँजीबजारका कतिपय राम्रा कार्यक्रम र सुधारको नीति मौद्रिक नीतिबाट कसरी सम्बोधित हुन्छ भन्ने विषयमा समेत ‘पर्ख र हेर’को रणनीतिमा छन् । यसका कारण समेत बजारमा खरिद चाप खासै देखिएको छैन ।
लामो समयदेखि झिनो अंकको घटबढ व्यहोरिरहेको बजारमा बुधबार ०.२ अंकको गिरावट देखियो ।
झिनो गिरावट व्यहोरेको नेप्से परिसूचक १२५८.४६ को विन्दूमा सीमित भए पनि कारोबार रकम भने घटेर ३० करोडमा सीमित बन्न पुगेको छ ।
यो दिन विकास बैंक समूहसहित ५ समूहको सूचक बढेको छ भने अन्य समूहको सूचक घटेको छ ।
विकास बैंक समूह ५.४२ अंकले बढेको यो दिन बित्त समूहमा २.८६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.९१ अंक, जीवन बिमा समूहमा १४.२४ अंक र अन्य समूहमा २.४२ अंकको बढोत्तरी भयो ।
बैंकिङ समूह १.०६ अंकले घटेको यो दिन होटल समूहमा ३.४७ अंक, जलविद्युत समूहमा १.७३ अंक, निर्जीवन बिमा समूहमा ३०.२८ अंक, माइक्रोफाइनान्स समूहमा १.६५ अंक र म्युचुअल फण्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका ९ लाख ८० हजार ९१९ कित्ता सेयर ३० करोड ४१ लाख ८९ हजार ६४५ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी एनआइसी एशिया बैंकले २ करोड १७ लाख बढीको कारोबार गर्यो । प्रभू बैंकले २ करोड ३ लाख, नेपाल बैंकले १ करोड ८० लाख बढीको कारोबार गरेको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४९ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो ।
तारागाउँ रिजेन्सी होटलले १ करोड ३४ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २७ लाख, शिवम सिमेन्टले १ करोड २ लाख, कृषि विकास बैंकले ९२ लाख, आरएमडिसी लघुवित्तले ८६ लाख र अपर तामाकोशीले ६९ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो ।
घलेम्दी हाइड्रो लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ३.५७ प्रतिशतले घटी प्रतिकित्ता ८१ रुपैयाँको तल्लो स्तरमा पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19