काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १ करोड ८ लाख ७९ हजार ८३० कित्ताका लागि आवेदन परेको छ । 
यो भनेको सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हो । 

आइपीओमा आज(बुधबार)सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अन्तिम दिन(आज) सम्ममा कुल ४ लाख ४७ हजार १२३ वटा आवेदन परेका छन् । 

आइपीओ खरीदका लागि आएका ८ हजार ६०४ वटा आवेदन रित नपुगेका कारण रद्ध भएका छन् । 

आइपीओमा अन्तिम दिन बुधबार मात्रै ६२ हजार ४३२ आवेदन परेका छन् । यो दिन मात्रै कुल १५ लाख ६७ जहार ६१० कित्ता सेयरका लागि आवेदन परेको छ । 

संस्थाले गत आइतबार (असार २१ गते)देखि ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो । संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो। निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । 

आईपीओमा मंगलबार साँझसम्म माग भन्दा १३ गुणा बढी आवेदन परिसकेको थियो। मंगलबार साँझ ५ बजेसम्म ८८ लाख ६४ हजार ८३० कित्ताका लागि आवेदन परेको थियो। 

यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस प्रदान गरेको छ।