काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा भोलि बिहीबारदेखि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र संस्थाबीच आज बुधबार सेयर सूचीकरण सम्झौता भएसँगै यो संस्थाको सेयर कारोबारमा आउने भएको हो। नेप्सेले यो संस्थालाई स्पेसल प्रिओपन सेसन (११ः३० देखि ११ः४५) सम्म पहिलो कारोबारका लागि ओपनिङ प्राइस रेन्ज रु. १३०.१२ देखि रु. ३९०.३६ रुपैयाँ तोकेको छ। संस्थाको कारोबार संकेत 'एसडीएलबीएसएल' रहेको छ।

यसैबीच संस्थाले हालै निष्कासन तथा बिक्री गरेको प्राथमिक सेयर (आईपीओ) बुधबार नेप्सेमा सूचीकृत भएको छ। नेप्सेका अनुसार संस्थाको २१ लाख ७७ हजार ८०० कित्ता सेयर सूचीकृत भएको हो।

संस्थाले गत असार २१ गतेदेखि असार २४ गतेसम्म ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो। निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।