काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगितको निर्णय विधानविपरीत भएको बताएका छन्।

ढकाल नेतृत्वको समूहले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ढकालले कार्यसमिति बैठकले गर्नुपर्ने निर्णय पदाधिकारी बैठकले गरेकोले विधानविपरीत भएको दाबी गरे। ‘यो गलत भएको छ’, उनले भने, ‘कार्यसमितिले साधारणसभा सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीको बैठकले गरेको छ, यो ठीक भएन।’

आफूलाई साधारणसभा आगामी चैतमा गरे पनि खासै फरक नपर्ने पनि ढकालले स्पष्ट पारे। ‘मैले निर्णय विधानअनुसार हुनुपर्छ भनेको मात्र हो’, उनले भने। 

महासंघको निर्वाचन गर्ने विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गरेकोमा जवाफ नआइसकेको अवस्थामा पदाधिकारी बैठकले एकपक्षीय रुपमा स्थगितको निर्णय गर्नु गलत भएको ढकालको तर्क छ। ‘यो हतारको निर्णय भयो’, उनले भने।

यो विधानविपरीतको निर्णयले महासंघको कानुनीमात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको ढकालले टिप्पणी गरे। ‘यो चुनावी नतिजा आँकलन गरेर स्थगित गरिएको हो’, उनले भने। 

महासंघको चुनाव साउन २६ र २७ गतेका लागि तोकिएको थियो। तर बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिमका कारण देखाउँदै निर्वाचन स्थगितको निर्णय गरेको छ। ‘स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न मैले प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्यभन्दा महासंघ ठूलो भएको भन्दै हतोत्साही पार्न खोजे’, ढकालले भने। 

पत्रकार सम्मेलनमा महासंघ पूर्वअध्यक्ष चण्डीराज ढकालले गलत नियतले चुनाव स्थगित गरिएको दाबी गरे। ‘कतिपय पदाधिकारी काठमाण्डौ उपत्यकाबाहिर छन्, यस्तो बेला स्थगितको निर्णय गर्नु सरासर गलत हो’, उनले भने, ‘यस्ता निर्णयका कारण महासंघ दुर्घटनामा फस्न सक्छ।’ 

आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन्।