काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको साना किसान विकास बैंक लिमीटेडको आकर्षक बोनस सेयर पाउने मन छ ? त्यसो हो भने तपाईले आज नै यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।

किनभने यो कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.३१७ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसहितका अजेण्डा पारित गर्ने उद्देश्यले आह्वान गरेको वार्षिक साधारणसभाका लागि भोलि(माघ २ गते)का लागि बुक क्लोज मिति तोकेको छ । 

यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश पाउन, साधारणसभामा सहभागी हुन चाहनेले बुक क्लोजको एक दिन अर्थात माघ १ गते(आज)भित्र यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्छ ।

यो कम्पनीले माघ १८ गते आफ्नो १७ औं वार्षिक साधारणसभा कृषि विकास बैंकको केन्द्रीय तालिम इन्स्टिच्यूटमा आह्वान गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४ ७५ को नाफाबाट लगानीकर्तालाई १५ करोड ७२ लाख रुपैयाँ बराबरको २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

साधारणसभाले लाभांश पारित गर्ने अजेण्डासहित संस्थापक समूहबाट संचालक चुन्ने अजेण्डामाथि समेत छलफल गरी निर्णय लिनेछ ।