काठमाण्डौ । विद्युत विकास विभागले सानिमा हाइड्रोलाई ५६ मेगावाटको जुमखोला जलविद्युत आयोजनाको निर्माणको अनुमति दिएको छ। 

विभागले सानिमा हाइड्रोलाई दोलखाको लामाबगरमा जुमखोला जलविद्युत आयोजना निर्माणको अनुमति दिएको हो। यो आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल नजिकै निर्माण हुनेछ। 

विभागबाट अनुमति पाए पनि विद्युत खरिद बिक्री सम्झौता हुन नसकेकोले निर्माणमा ढिलाइ हुने कम्पनीले जनाएको छ। ग्रिड कनेक्सन एग्रिमेन्ट भइसके पनि टेक अर पे पीपीए रोकिएकोले आयोजनाको विद्युत खरिदबिक्री सम्झौता हुन नसकेको हो। 

यो आयोजना निर्माण सुरु भएको मितिबाट ४ वर्षभित्र सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। पहुँचमार्गदेखि प्रसारणलाइनसम्मका संरचना निर्माण गर्ने गरी यो आयोजनाको लागत १० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। यद्यपि नेपाल सरकारले चीनको नाकासम्म जोड्ने सडक आफैँ निर्माण गरिरहेकोले आयोजनाको लागत केही कम हुन सक्ने बताइएको छ। 

सोही स्थानमा १६० मेगावाटको नासा हाइड्रोपावर, ५२ मेगावाटको ल्याप्चे खोला र माथिल्लो तामाकोशीकै २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणाधीन छन्। 

यो आयोजनाअन्तर्गत अडिट टनेलसहित २ हजार ५०० मिटरमात्रै सुरुङमार्ग निर्माण हुनेछ। २५० मिटर उचाइबाट पानी खसाएर १४ मेगावाट क्षमताका ४ वटा टर्बाइनबाट ५६ मेगावाट विद्युत उत्पादन गरिनेछ। 

यस आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङस्थित सबस्टेसनमा जोडिनेछ। यसका लागि ३५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने कम्पनीले जनाएको छ।