काठमाण्डौ । सानिमा बैंकले आज कात्तिक १६ गतेदेखि ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। 

बैंक संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा संस्थापक सेयरधनीहरुबाहेक व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले आउँदो कात्तिक २३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। 

बैंकले यसअघि ३५ दिने सूचना निकालेर विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्री खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरेको हो।