-भक्तराज रसाइली

काठमाण्डौ । एउटा बित्तीय संस्थाको दवाब र प्रभावमा नेपालका नियामक भनिने निकायहरु कसरी विद्यमान नियम कानून नै परिवर्तन गर्ने अवस्थासम्म पुग्छन् भन्ने उदाहरण केही समयपछि देखिन पाइने भएको छ।

दोश्रो बजारको विकासका लागि खासै धेरै प्रयास नगरेको र पछिल्लो समय बजारलाई अस्तव्यस्त बनाई दवाब र प्रभावमा काम गर्ने गरेको संगीन आरोप खेपिरहेको नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुले समेत विज्ञापन गर्न पाउने व्यवस्था गर्ने विषयमा छलफल थालेको हो । 

यो छलफल स्वस्फूर्त रुपमा अगाडि बढेको नभई सानिमा बैंकले केही समयअघि गरेको गैरकानूनी विज्ञापन र त्यसपछि बैंकबाट बोर्डका अधिकारीलाई दिइएको दवाब र पारिएको प्रभावको परिणाम रहेको बोर्डस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

बोर्डका केही अधिकारीले अनौपचारिक रुपमा ब्रोकरहरुलाई आफूहरुले सानिमा बैंकले नै ब्रोकरेज सेवाको विज्ञापन गर्न पाउनुपर्ने माग लिखित रुपमा बोर्डमा पेश गरे त्यसमा छलफल गर्न सकिने र विद्यमान व्यवस्था परिमार्जन गर्न सकिने आशय व्यक्त गरेका स्रोत बताउँछ । 

स्रोतका अनुसार सानिमा बैंकले ब्रोकर सेवाको विज्ञापन गरेपछि यसमा ब्रोकरहरुले आपत्ति जनाएका थिए । सानिमाले गरेको गैरकानूनी कामको तीव्र विरोध भएपछि बोर्डले सानिमा बैंकलाई कारबाहीको दायरामा ल्याउनुको साटो ब्रोकरहरुले समेत विज्ञापन गर्न सक्ने भन्दै गृहकार्य थालेको हो । 

हालैको एक सार्वजनिक कार्यक्रममा सानिमा बैंकका सीइओ भुवन दाहालले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की हाम्रा लागि ब्रम्हा, विष्णु र महेश्वर सबै हुन् भन्दै प्रशंसा समेत गरेका थिए । दाहाल र बोर्ड अध्यक्ष कार्कीको यो हदसम्मको प्रगाढताकै कारण सानिमाकै लागि भनी नियमावली संसोधन गर्ने र ब्रोकरहरुलाई समेत ब्रोकरेज सेवाको विज्ञापन गर्न पाउने गरी छुट दिने व्यवस्था कार्यान्वयनको तयारी भइरहेको स्रोत दाबी गर्छ ।

यसरी कुनै एउटा बैंककै लागि बोर्डले नियम परिवर्तन गरेको यो पहिलो घटना भने होइन । एक जानकारका अनुसार एफपीओ र हकप्रदको सवालमा समेत विगतमा बोर्ड नेतृत्वले कुनै वित्तीय संस्था विशेषको प्रभावमा परेर रातारात नियम नै परिवर्तन गर्ने काम गरेको थियो । 

लगानीकर्ताहरुको हित भन्दा पनि आफ्नो हितमा लागेपछि नेपालको पूँजीबजारको विकास र विस्तारमा बोर्ड चिन्तित नभएको आरोप लाग्दै आएको छ । बोर्डका यस्ता गतिविधिले यस्ता आरोपहरु पुष्टि हुने आधार तयार गर्दै लगेको छ ।

दोस्रो बजारमा सेयर खरिदबिक्रीमा मध्यस्थकर्ताका रुपमा भूमिका निर्वाह गर्दै आएका ५० वटा ब्रोकरहरुले यसअघि विज्ञापन गर्न पाउँदैनन् ।

ब्रोकरहरुले विज्ञापन हुने किसिमका कुनै पनि क्रियाकलाप गर्न पाउदैनन् । तर, सानिमा बैंकले भने अनलाइन ब्रोकरेज सेवाको नाममा न्यूनतम दरमै सेवा दिने भन्दै सर्वत्र विज्ञापन गरेको थियो । यसप्रति बोर्ड नरम बनी उसैका लागि विज्ञापन गर्न पाउने व्यवस्था गर्न उद्यत देखिएको हो । 

पछिल्लो समय मौद्रिक नीति मार्फत नै बैंकलाई ब्रोकर लाइसेन्स दिइने व्यवस्थाका लागि वाणिज्य बैंकहरु लाइसेन्स लिने दौडमा तल्लीन र सक्रियता देखाइरहेका छन् । 

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्सको अनुमति नै नलिई सानिमा बैंकले छापा तथा अनलाइन मिडियामा भ्रमात्मक प्रचारप्रसार र ब्रोकर सेवाको विज्ञापन गरिरहेको छ । 

सानिमा बैंकका सिइओ भुवन दाहालले बैंकलाई ब्रोकर लाइसेन्स दिलाउन निकै पापड पेलिरहेका र उनकै दबाब र प्रभावमा समेत परेर बोर्डले आजसम्म लाइसेन्स नै नपाएको व्यवसाय अझ बोर्डकै आचारसहिंतालाई लत्याउने काम गरेको सानिमा बैंकलाई कुनै पनि किसिमको कारवाही गर्नमा चासो नदेखाएको स्रोत दाबी गर्छ ।

यसबाट नेपालको पूँजी बजार कसरी चलिरहको छ र पूँजीबजारमा पैसाको चलखेलको हदले कत्तिसम्म हदपार गर्न लागेको छ भन्ने कुरा प्रमाणित हुने एक बजार विज्ञ बताउँछन् । 

अर्कातर्फ बोर्ड आफैं साना लगानीकर्ता र दुर्गममा समेत सेयर बजारको पहँुच पुर्याउने वकालत गर्दै आएकोमा विगत लामो समयदेखि मञ्जुश्री फाइनान्सको कार्वाहीलाई समेत अध्ययन भइरहेको बहाना बनाउँदै दोस्रो बजारमा कारोबार रोक्का भएकोमा कत्ति पनि चिन्तित नभएको देखिइसकेको छ ।