काठमाण्डौ । सानिमा बैंकको संस्थापक सेयरको अन्तिम समयमा बजारमा प्रवेश भएसँगै बिहीबारको कारोबार रकम ९४ करोड माथि पुगेको छ । 

यो दिन नेप्से परिसूचक ५.६४ अंकले घटेर १२९१.९६ विन्दूमा सीमित भए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको हो । 

सानिमा बैंकको संस्थापक सेयरको मात्रै  ३२ करोड ५० लाख बढीको कारोबार भएको छ । 

नेप्सेको फ्लोरसिटमा सानिमा बैंकको यति ठूलो परिमाणको संस्थापक सेयर ब्रोकर नम्बर ५० मार्फत खरीद भएको र ३३ बाट बिक्री भएको देखिन्छ । 

केही समयअघि अक्सनमा आएको सानिमा बैंकको ठूलो परिमाणको संस्थापक सेयर कर्मचारी सञ्चयकोषले उठाएको थियो । त्यही सेयर कारोबारमा आउँदा यस्तो देखिएको ३३ नम्बर ब्रोकरले जनाएको छ । 

सानिमा बैंकको ३२ करोड ५० लाख बढीको संस्थापक सेयरको कारोबारलाई हटाएर हेर्दा समेत बजारमा बुधबारको तुलनामा कारोबार रकम केही बढेको देखिएको छ । 

यो दिन राम्रा कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.५५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४१ अंकको बढोत्तरी देखिएको छ । 

यो दिन निर्जीवन बिमा समूह ५०.२१ अंकले बढ्यो भने उत्पादनमूलकमा ३६.०९ अंकको बढोत्तरी भयो । 

बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । बैंकिङ समूह ८.३१ अंकले घटेको यो दिन होटल समूहमा १२.१२ अंक, विकास बैंक समूहमा ७.६८ अंक, जलविद्युत समूहमा ३.५४ अंक, बित्त समूहमा २.४१ अंक, जीवन बिमा समूहमा ५३.८८ अंक, माइक्रोफाइनान्स समूहमा ८.१८ अंक र अन्य समूहमा ०.९६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७४ कम्पनीका ३५ लाख ८५ हजार ६९५ कित्ता सेयर ९४ करोड ७३ लाख ४७ हजार ७७६ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी सानिमा बैंकको ३२ करोड ५० लाख बढीको संस्थापक सेयर किनबेच भयो । यसैगरी, शिवम् सिमेन्टले ५ करोड ३ लाख बढीको कारोबार गर्यो भने नेको इन्स्योरेन्सले ४ करोड ८ लाख, एनएमबी बैंकले ३ करोड ७६ लाख, कृषि विकास बैंकले ३ करोड ६८ लाख, सगरमाथा इन्स्योरेन्सले ३ करोड २७ लाख, एनसीसी बैंकले ३ करोड १३ लाख, प्रिमियर इन्स्योरेन्सले २ करोड ९३ लाख, नेपाल बैंकले २ करोड ४६ लाख र मेगा बैंकले १ करोड ७८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८.५१ प्रतिशतले बढ्यो । नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयर मूल्य ८ प्रतिशतले बढेको यो दिन हिमालयन डिस्टीलरीका लगानीकर्ताले समेत ८ प्रतिशतकै हाराहारीमा सम्पत्ति बढाए । 

यो दिन प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ९.२४ प्रतिशतले घट्यो ।