काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ हात्तीसारस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

यो कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म १०० अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओ कुल २१ लाख ९८ हजार ७६४ आवेदकबाट २ करोड ५२ लाख १९ हजार ९०० कित्ता माग भएको थियो। तीमध्ये २१ लाख ८८ हजार ७७८ आवेदकबाट परेको २ करोड ५० लाख ९६ हजार ७० कित्ता सेयरमात्रै सदर भएको छ। ९ हजार ९८६ आवेदकबाट परेको १ लाख २३ हजार ८३० कित्ता बदर भएको छ। 

गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि मात्रै सार्वजनिक गरिने नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ। आईपीओको नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np का साथै धितोपत्र बिक्री प्रबन्धक र निष्कासनकर्ता कम्पनीको वेबसाइटबाट पनि हेर्न सकिनेछ।