काठमाण्डौ । जोखिममा परेका नागरिकलाई सामाजिक संरक्षण प्रदान गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले शुरु गरेको रणनीतिक महत्वको सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको एक वर्ष पुगेको छ ।
गत वर्ष मङ्सिर ११ गते सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आजसम्म ११ हजार रोजगारदाता र एक लाख १५ हजार बढी श्रमिक सूचीकृत भइसकेका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै रु १७ करोड योगदान रकम सङ्कलन भइसकेको छ । यही मङ्सिर १४ गतेसम्म सूचीकरणका लागि समय थप गरिएको छ ।
पछिल्लो पटक थप भएको समयावधिभित्र सबै प्रतिष्ठान र आबद्ध श्रमिक कोषमा सूचीकृत हुने सरकारले विश्वास लिएको छ । सरकारले कार्यक्रम घोषणा भएको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेको छ । सरकार, रोजगारदाता र श्रमिकको सहभागितामा दिवसलाई भव्यरुपमा मनाउन तयारी गरिएको छ । बुधबार भृकुटीमण्डपमा बहृद् कार्यक्रमको आयोजना गरिएको छ ।
सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइरहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले भने कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् ।
कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रुपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरुका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुस्ट प्रतिव्यक्ति रु २५ हजार सहायता प्राप्त गरिसकेका छन् ।
यसैगरी मासिक निवृत्तिभरणबापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत हुन आउने मासिक रु १७ हजार १०० र तामाङको परिवारले मासिक रु १० हजार २०० प्राप्त गरेको कोषले जनाएको छ । योगदान आरम्भ गरेको एक महिनामै उनीहरुको सडक दुर्घटनामा परी ज्यान गएको थियो ।
कोषले तत्कालका लागि चार प्रकारका सुरक्षा योजना लागू गरेको छ । औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण योजना र अवकास सुविधा योजना सञ्चालनमा ल्याएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19