काठमाण्डौ । सरकारले श्रमिक तथा कर्मचारीलाई करिब १९ करोड रुपैयाँ राहत प्रदान गरेको छ।

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीलाई राहात प्रदान गरेको हो। जसअनुसार सरकारले ८६१ कम्पनी र तिनमा कार्यरत ३३ हजार ४०० श्रमिक तथा कर्मचारीले कोषमा जम्मा गर्नुपर्ने १८ करोड ६६ लाख रुपैयाँ तिरिदिएर राहत प्रदान गरेको जानकारी कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बताए। 

कोषमा आवद्ध कम्पनीले सरकारबाट १२ करोड र श्रमिक तथा कर्मचारीले करिब ६ करोड ६६ लाख करोड राहत पाएको उनले जानकारी दिए। 

कोषमा श्रमिक तथा कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, निजी तथा गैरसरकारी क्षेत्रका रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम हरेक जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ। रोजगारदाताले आफ्ना श्रमिकलाई न्यूनतम पारिश्रमिकको २० प्रतिशत रकम उपदान तथा सञ्चय कोषबापत कोषमा जम्मा गर्नुपर्छ। 
 

सरकारको राहतसँगै कोषमा आबद्ध श्रमिक तथा कर्मचारीले चैतको तलबसमेत पाएका छन्।

लकडाउनका क्रममा ठप्प रहेका कम्पनीले आफ्ना श्रमिक तथा कर्मचारीलाई चैतको तलब दिएको लिखित जानकारी प्राप्त भएपछि मात्र सरकारले राहत रकम कोषमा जम्मा गरिदिने गरेको छ।