– भक्तराज रसाइली

काठमाण्डौ । पुँजीबजारमा लगानी गर्ने उद्देश्यले ४ वटा संस्थान मिलेर नयाँ स्टक डिलर ल्याउने भएका छन्। 

सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी मिलेर नयाँ स्टक डिलर ल्याउन लागेका हुन्। सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि गत मंसिर १० मा मन्त्रिस्तरीय बैठकद्वारा पारित भएकाले अब कोषलगायत अन्य ३ संस्था मिली स्टक डिलर ल्याउने तयार गरेका हुन्। कोषले सहायक कम्पनी स्थापना गरेर स्टक डिलर ल्याउन पहल भइरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए। कोषको ऐनमा कोषले पुँजीबजारमा १५ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थालाई टेक्दै कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको संयुक्त लगानीमा स्टक डिलर आउने भएको ज्ञवालीले बताए।

लगानी कार्यविधि स्वीकृति भएसँगै कोषले डिबेन्चरमा पनि लगानी अघि बढाइसकेको बताउँदै ज्ञवालीले सहवित्तीयकरण कर्जामा समेत लगानी गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि माग गरेको बताए। यस्तै कोषले लगानी कार्यविधिअन्तर्गत नै उपयुक्त र राम्रा परियोजनाहरुमा पनि कोषको फन्ड लगानी गर्ने जनाएको छ।

सामाजिक कोषसहितका संस्थाहरु मिली पुँजीबजारमा प्रवेश गर्नका निम्ति बनेको कमिटीमा कोषका तर्फबाट संयोजक उपकार्यकारी निर्देशक बिबेक पन्थी छन्। नयाँ स्वीकृति भएको कोषको लगानी कार्यविधिअन्तर्गत कोषले विभिन्न १२ सेक्टरमध्ये एक स्टक डिलरका रुपमा पनि काम गर्न सक्ने उल्लेख भएको पन्थीको भनाइ छ।

पन्थीका अनुसार सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी मिली ल्याउन लागिएको स्टक डिलरका विषयमा ४–५ वटा छलफल समापन भइसकेको छ। पन्थीले अब अन्तिम रुप दिन सम्बन्धित संस्थाका बोर्डबाट निर्णय गराई स्टक डिलरको प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको जानकारी दिए।

विशिष्टीकृत लगानी कोषको अवधारणामा आउन लागेको कोषसहितका संस्थानले स्थापना गर्न लागेको स्टक डिलरको सुरुमा पुँजी ५ अर्ब रुपैयाँ र त्यसपछि १० अर्ब रुपैयाँ बनाउने तयारी भइरहेको पन्थीले खुलाए। ‘स्टक डिलर स्थापनार्थ प्रबन्धपत्र तथा विनियमावलीको ड्राफ्ट तयार भइसकेको र अब डिलर कम्पनीका रुपमा दर्ता गर्ने छौँ’, उनले बिजशालासँग भने, ‘सामाजिक सुरक्षा कोषको १५ प्रतिशत, सञ्चय कोषको २५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १५ प्रतिशत र बाँकी ३० प्रतिशत सर्वसाधारणको हिस्सा रहने गरी पुँजी संरचना कायम भएको छ।’

चारवटा संस्थान मिली स्थापना हुन लागेको स्टक डिलरको नाम भने ‘नेपाल स्टक डिलर’ रहने सहमति भएको पनि पन्थीले खुलासा गरे।

सामाजिक सुरक्षा कोषमा हाल १ लाख ९१ हजार श्रमिक दर्ता भएका छन् भने ४ अर्ब ४५ करोड रुपैयाँ फन्ड जम्मा भएको छ।