काठमाण्डौ। सामाजिक सुरक्षा कोषले पनि स्वरोजगार र अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले समेत सहभागित जनाउन सक्ने पेन्सन योजना ल्याउने भएको छ।

कोषका उपकार्यकारी निर्देशक तथा प्रवक्ता बिबेक पन्थीले उद्यम, स्वरोजगार र अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले समेत सहभागित जनाउन सक्ने पेन्सन योजना ल्याउने भएको जानकारी दिएका छन्। यसका लागि हाल नयाँ कार्यविधि बनाउने काम धमाधम भइरहेको उनले बताए। उक्त कार्यविधिको अन्तिम प्रारुपलाई सामाजिक सुरक्षा कोषको बोर्डमा २ महिनाभित्रै प्रस्ताव पेस गर्ने योजना रहेको उनको भनाइ छ।

स्वरोजगार तथा उद्यममा संलग्नहरुले स्वयं तलब घोषणा गरी न्यूनतम योगदान रकम तोक्ने कार्यविधिमा समावेश गर्ने विषयमा छलफलको चरणमा रहेको प्रवक्ता पन्थीले बताए। पेन्सन योजनामा सहभागीहरुलाई कोषले हाल दिइरहेको स्वास्थ्य सुरक्षा, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाका ४ वटै स्किमबाट लाभान्वित हुन सक्ने उनले जिकिर गरे। 

पेन्सन योजनामा सहभागी हुनलाई न्यूनतम मासिक ३०० रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक ड्राफ्ट भएको र पेन्सन योजनामा योगदान रकम भने सहभागीले त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा भुक्तान गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए। कोषको पेन्सन योजनामा सहभागीहरुले तिर्नुपर्ने भुक्तानी रकम भने मोबाइल एप, मोबाइल बैंकिङ, सहकारी संस्था र स्थानीय सरकारबाट पनि जम्मा गर्न सक्ने बताइएको छ।

नागरिक लगानी कोषले यसअघि नै नागरिक पेन्सन योजना ल्याइसकेको छ। गत वर्षदेखि नागरिक लगानी कोषले स्वरोजगार, वैदेशिक रोजगार र अनौपचारिक क्षेत्रका व्यक्तिहरुलाई समेटी नागरिक पेन्सन योजना ल्याएको छ।