चितवन । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको निःशुल्क उपचार भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट हुने भएको छ। 

कोष र कलेजले यससम्बन्धी सम्झौता गरेका हुन्। यसअघि औषधोपचारबापतको खर्च रकम अस्पताललाई भुक्तानी गरेपश्चात योगदानकर्ता आफैँले सामाजिक सुरक्षा कोषमा सोधभर्ना दाबी गर्ने झन्झटिलो प्रक्रिया रहेकोमा अबोप्रान्त योगदानकर्ताले सीधै पुरानो मेडिकल कलेजमा कोषले उपलब्ध गराएको कार्ड देखाएर निःशुल्क उपचार सेवा लिन सक्ने र दाबी भुक्तानी कोषले अस्पताललाई सिधै गर्ने नयाँ व्यवस्था गरिएको हो।

कोषका सूचना अधिकारी डा रोशन कोजुले पुरानो मेडिकल कलेजसँग सम्झौता भएको उल्लेख गर्दै उक्त अस्पतालबाट सेवा लिँदा योगदानकर्तालाई सहज हुने जानकारी दिए। ‘पुरानो मेडिकल कलेजमा उपचार गर्नुभयो भने सामाजिक सुरक्षा कोषमार्फत भुक्तानी सहज हुन्छ’, उनले भने। 

कोषले प्रदान गर्ने औषधोपचारअन्तर्गत एक आर्थिक वर्षमा ओपीडीमा रु. २५ हजारसम्म र भर्ना भएको बिरामिको हकमा रु. १ लाखसम्म पाइने व्यवस्था छ। औषधोपचार सेवा लिने बिरामीले २० प्रतिशत रकम भने आफैले व्यहोर्नुपर्नेछ। बाँकी ८० प्रतिशत रकम कोषले सीधै अस्पताललाई भुक्तानी गर्नेछ। 

दुर्घटनाका बिरामीको हकमा भने रु. ७ लाखसम्मको उपचार खर्च कोषले व्यहोर्नेछ। यस्तै योगदानकर्ताकी श्रीमती गर्भवती हुँदा, गर्भवतीअगाडिको परीक्षण र जन्मिएको शिशुको उपचारसमेत कोषमार्फत हुने व्यवस्था रहेको छ।

निजी क्षेत्रको नेपालकै सबैभन्दा पुरानो यस शिक्षण अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, क्षयरोग सम्बन्धी डट्स कार्यक्रम, भूतपूर्व नेपाली भारतीय सेनाहरुको उपचारसम्बन्धी ईसीएचएस कार्यक्रम, हेमोडायलाइसिस कार्यक्रम, पाठेघरको शल्यक्रिया आदि औषधि उपचार कार्यक्रमहरु निःशुल्क रुपमा उपलब्ध रहेका छन्।

पुरानो मेडिकल कलेजमा कोषमा आबद्ध योगदानकर्ताहरु उपचारका लागि आउँदा कुनै समस्या भएमा अस्पतालको हटलाइन नम्बर ९८५५०१६१३३ मा सीधै फोन गरी आवश्यक जानकारी लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।