काठमाण्डौ । नयाँ युगको शुरुवातका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कोष आइतबारदेखि छैटौं वर्षमा प्रवेश गरेको छ ।

उक्त अबसरमा कोषले अबदेखि कोषमा आबद्ध श्रमिकका छोरा-छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्न लागेको हो  ।

गत शुक्रबार बसेको सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका आमा-बुवाले पाएसरहको स्वास्थ्य सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानले पनि उक्त सुविधा पाउने छन् ।
विसं २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको थियो । 

छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानकर्ता श्रमिकका सन्ततीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने घोषणा गर्ने कार्यक्रम छ ।
सुविधा के छ ?
सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वाषिर्क १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउँछन् । कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना हुन्छ ।

यसैगरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ । योगदान शुरु गरेको दुई वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छ ।

दुर्घटना भएमा वा व्यवसायजन्य रोग लागेर काममा नफर्किएसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम पाइन्छ भने स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ ।

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अनुुसार सुविधा पाउँदै आएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

ऐनमा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने भनी दायरा किटान गरिएको छ ।
हालसम्म कति भए आबद्ध ?
पछिल्लो अद्यावधिक तथ्यांक अनुसार कोषमा १८ हजार ४३९ रोजगारदाता र ९ लाख २८ हजार ४५३ योगदानकर्ता आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ ४ लाख ६१ हजार ७९६ जना छन् भने वैदेशिक रोजगारीतर्फ ४ लाख ६६ हजार ६२२ छन् । यसैगरी स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध छन् । सो अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपियाँ संकलन भएको छ ।

कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम ५ अर्ब ४८ करोड ९६ लाख रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको कोषले जनाएको छ । 
आश्रित परिवारले पाए १ लाखसम्म पेन्सन
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक १ लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ जना योगदानकर्ताका आश्रित परिवारलाई ४ हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ ।

कोषका अनुसार बालाजु ग्रूप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उनका आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आएका छन् ।