काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३६.२६ प्रतिशत लाभांश वितरण र २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजीको ३६.४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८१ नगर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै संस्थाले चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको हो ।

संस्थाले लाभांश वितरण र हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण र हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने संस्थाले जनाएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ५६.९६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

हालै सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ८८ लाख ६९ हजार रुपैयाँ बढी कमाउन सफल भएको हो ।

संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।