काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि चौथो दिन साँझसम्म २ लाख ६० हजार बढीले आवेदन दिएका छन् । 

छिटोमा आवेदन दिने अन्तिम दिन साँझ ६ बजेसम्मको आँकडा अनुसार आइपीओमा माग भन्दा ६२.१९ गुणा बढी आवेदन परेको हो । 

कुल २ लाख ६० हजार ९ सय २१ आवेदकबाट १ करोड ६९ लाख ७९ हजार ९ सय ३० कित्ताका लागि आवेदन परेको सिडिएससीले जनाएको छ । 

आवेदन संकलन हुने क्रम जारी रहेकोले अन्तिम तथ्यांक भने भोलि मात्र आउने बताइएको छ । 

साँझसम्मकै तथ्यांकलाई हेर्दा समेत २ लाख भन्दा बढी आवेदको हात रित्तो हुने देखिएको छ । 

यो कम्पनीले कुल ३ लाख कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये १२ हजार कित्ता लघुवित्तका कर्मचारी, १५ हजार कित्ता म्युचुअल फण्ड र बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका आइपीओ निश्कासन गरेको हो । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँको उचाईमा पुगेको छ ।