काठमाण्डौ । सामुदायिक लुघवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बिहान बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिंगको काठमाण्डौ हात्तीसारस्थित मुख्य कार्यालयमा एक समारोहका आयोजना गरी बिहान ९ बजे सामुदायिकको आइपीओ बाँडफाँड गरिने भएको हो । 

मंसिर २ गतेदेखि निश्कासन भएको यो कम्पनीको आइपीओ खरीदका लागि सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि २ लाख ६१ हजार ३ सय ५१ जनाले आवेदन दिएका छन् । 

आवेदकबाट १ करोड ७० लाख ४ हजार ४ सय कित्ताका लागि आवेदन परेको हो । मागभन्दा ६२ गुणा बढी आवेदन परेका कारण २ लाख २७ हजार भन्दा बढीको हात रित्तो हुनेछ । 

यो कम्पनीले कुल ३ लाख कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये १२ हजार कित्ता लघुवित्तका कर्मचारी, १५ हजार कित्ता म्युचुअल फण्ड र बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो ।

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँको उचाईमा पुगेको छ ।