काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् । 

बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए। सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भाबना रहेको निरीक्षणका क्रममा उनले बताए ।

उनले भने, ‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कदैन । व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो । कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सृजना भयो ? यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौं । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ ।’

‘निजी क्षेत्रमा धेरै उद्योग व्यवसाय सञ्चालन हुन्छ । पाँच दर्जनभन्दा बढी निजी क्षेत्रको सिमेन्ट उद्योग छ । व्यवस्थापन र सरकारले ध्यान नदिएको श्रमिक साथीहरुबाट आयो’ उनले भने,  ‘निजी क्षेत्रले आफैले जमिन किन्छ, उद्योग आफै बनाउँछ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।’

उनका अनुसार उदयपुर सिमेन्ट कारखाना जापान सरकारले सहयोग गरेको हो । त्यसबेला ४४ करोड रुपैयाँ लगानी भएको छ । अहिले उद्योगमाथि ७५ करोड रुपैयाँको दायित्व छ ।