काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाले २०७७ साल नेपालको पुँजी बजारका लागि ‘ऐतिहासिक वर्ष’ बन्न पुगेको बताएका छन्। 

नवलपुरको कावासोतीमा भिजन सेक्युरिटिज प्रालिको शाखा कार्यालय सोमबार  उद्घाटन गर्दै धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको प्राथमिक निष्कासन, कारोबार रकम, बजार पुँजीकरण, नेप्से सूचकांकका साथै लगानीकर्ताको संख्याजस्ता परिसूचकहरूको बढोत्तरीका आधारमा २०७७ साल ऐतिहासिक वर्ष बन्न पुगेको बताएका हुन्। ‘विभिन्न प्राविधिक तथा नीतिगत सुधारसँगै एउटै आईपीओमा १८ लाखभन्दा बढी लगानीकर्ता सहभागी हुने अवस्थाको सिर्जना भएको छ’, उनले भने, ‘धितोपत्र बोर्डले पछिल्लो समय  बजारको सुधार तथा विकास विस्तारका लागि विभिन्न पहलमा गरेको छ।’ 

अध्यक्ष ढुंगानाले धितोपत्र दलाल व्यवासायीको शाखा विस्तारले पुँजी बजारको पहुँच विस्तारमा थप टेवा पुर्याउने बताए। ‘धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछि अब हामी दोस्रो बजारका सेवाहरूसमेत देशव्यापी बनाउने क्रममा छौँ’, उनले भने, ‘धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तारजस्ता कार्यले देशका कुनाकाप्चाबाट सर्वसाधारणले सेयर खरिद गर्ने तर सो सेयर बिक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको समाधान हुनेछ।’

ढुंगानाले धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय विस्तारमार्फत एकातिर संघीयताको सिद्धान्तअनुरुप पुँजी बजार स्थानीय तहसम्म विस्तार हुँदा स्थानीयस्तरको पुँजी परिचालन हुने र अर्कोतिर देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीयसमेत प्रत्यक्ष रुपमा सहभागी हुन पाउने वातावरण बन्ने धारणा पनि राखे।