काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार खुला भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र यी दुवै कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेयर किनबेच भएपछि नियमित समयका लागि कारोबार खुला भएको हो। प्रि–सेसनमा साहस उर्जाको सेयर प्रतिकित्ता ४०५.३० रुपैयाँमा र तेह्रथुम पावरको २५४.२० रुपैयाँमा पहिलो कारोबार भएको छ। 

नेप्सेले पहिलो कारोबारका लागि साहस उर्जालाई प्रतिकित्ता न्यूनतम १३५.११ रुपैयाँदेखि अधिकतम ४०५.३३ रुपैयाँ र तेह्रथुम पावरलाई प्रतिकित्ता न्यूनतम ८४.७४ रुपैयाँदेखि अधिकतममा २५४.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। 

साहस उर्जा र तेह्रथुम पावरको आईपीओ गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।