काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा अचाक्ली आकर्षण देखिएको छ।

निष्कासनको अन्तिम दिन सोमबार साँझ ६ बजेसम्म यो आईपीओमा २४ लाख ६४ हजार बढी आवेदन परेका छन्। ती आवेदनमार्फत ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका एक अधिकारीले बताए। ‘यो नै अन्तिम डाटा होइन, अझै बढी पनि हुन सक्छ’, ती अधिकारीले भने।

कम्पनीले गत असोज ६ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइने व्यव्स्था गरिएको थियो। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिएका छन्।

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। 

कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ। 

यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।