काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। 

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। 

एनआईबिएल एस क्यापिटलका अनुसार यो आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ आवेदन परेको थियो। जसमध्ये २३ लाख ८३ हजार ४६० आवेदन सदर भएका छन्। सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता सेयर माग भएको छ।

कुल आवेदनमध्ये ११ हजार ९९६ आवेदन बदर भएको छ। यी आवेदनमार्फत १ लाख ७९ हजार ७७० कित्ता सेयर माग भएको थियो। 

कुल दर आवेदकमध्ये गोलाप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ। 

साहस उर्जाको आईपीओ बाँडफाँड गरिए पनि सर्वसाधारणले अन्तिम नतिजा (रिजल्ट) भने केही घन्टापछि मात्र हेर्न सक्ने एनआईबिएल एस क्यापिटलले जनाएको छ। आईपीओको अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np र एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result बाट हेर्न सक्नेछन्।