काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवल जङ्ग पाण्डे निर्वाचित भएका छन् ।

कम्पनीको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले सञ्चालक प्रवल जङ्ग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । 

उनले यसअघि कम्पनीको सञ्चालक पदमा रहि कार्य गरि सकेका छन् । उनी मर्जर तथा एक्वीजिशन समितिको सदस्य भएको बेला कम्पनीले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो ।

कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष पाण्डे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको  प्रमुख लगानीकर्ता पनि हुन् ।ईन्जिनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइसकेका पाण्डेको अनुभवी नेतृत्वमा संस्थाले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

साथै सो सभाबाट सीता कार्की (केसी),सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । 

कम्पनीमा  सात जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन् ।